‘हट् घोडा हट्’ भन्दै घोडामा रमाए पर्यटक


सलिम अन्सारी,प्युठान ।

पहिले–पहिले घोडा पाल्ने र घोडामा सवार हुनेमा उच्च घरानियाँहरू हुन्थे। घोडा पाल्नु सोख थियो भने घोडामा सवार भएर हिँड्नु सान मानिथ्यो। आजभोलि पनि कतिपयले घोडचढीलाई सोख र सानकै रूपमा लिन्छन्। अहिले पनि गाउँ–घरमा घोडा चढेर आउने व्यक्ति सबैको दृष्टिमा पर्छ ।

सबैले घोडा चढ्ने व्यक्तिलाई हेर्छन्। धार्मिक तीर्थस्थल स्वर्गद्वारी आउने पर्यटक घोडामा चढेर रमाउन थालेका छन् । मन्दिर पुग्ने उकालो चढन नसक्ने र रमाईलोका लागि घोडा चढनेको आर्कषण बढेको हो ।

भृंग्री हुँदै गाडीमै धरमपानी पुगेका पर्यटक त्यहाँबाट मन्दिरसम्म पुग्न घोडामा चढने गरेका हुन् ।घोडाले व्यवासयीको आम्दानी र पर्यटकको मनोरञ्जन दुवै बढाएको छ ।धरमपानीसम्म गाडीमै आएका वृद्धवृद्धा मन्दिरमा पुग्न सजिलोको लागि र युवायुवती घोडामा बसेर सेल्फी लिँदै फेसबुकमा राख्नेको संख्या बढेको छ ।

स्वर्गद्धारी घुम्न आएका आन्तरिक पर्यटक देवराज डांगीले घोडामा चढ्दाको मजा बेग्लै हुने अनुभव सुनाउनुभयो। ११ वर्षदेखि स्वर्गद्वारी आएका पर्यटकलाई घोडमा चढाएर मन्दिरसम्म पुर्याउने व्यवसाय गर्दै आएका स्वर्गद्धारी ३ रुमालेका रोम बहादुर विकले पछिल्लो समय घोडा चढने बढदै गएको सुनाउनुभयो ।

घोडामा पर्यटक घुमाउदा आम्दानी राम्रो हुन्छ। उहाले भन्नुभयो,’अहिले यहाँ घरमै बसेर घरकै खाएर मासिक ३० हजार बढी कमाई हुन्छ। नया मान्छेसंगको भेट्घाट हुन्छ। बिहान ६ बजे उठेर यहाँ आयो अनि बेलुका उज्यालो रहँदा सम्म पर्यटकलाई घुमाउँदैमा बित्छ ।

स्वर्गद्वारी आएका धेरैजसो पर्यटक घोडामा चढन खोज्ने भएकाले आम्दानी बढदै गएको अर्का व्यवसायी टेक बहादुर बिकले बताउनुभयो ।

‘नया आउने मान्छे घोडामा चढ्न रुचाउछन’ उहाले भन्नुभयो, ‘घोडामा चढेर धेरैले फोटो लिइरहन्छन् ।’जति पर्यटक आए हामीलाइ त त्यति नै फाईदा न हो’ स्वर्गद्वारीमा घोडाको महत्त्व बढेको सुनाउदै उहाले भन्नुभयो,’मेरो जस्तै यहाँ १८ वटा घोडा छन,सबैले पर्यटक र सामान ओसार्ने गर्छन ।

धरमपानीबाट मान्छे पुर्याउँदा २ सय ५० र मालसामान पुर्याउँदा १ सय ५० रुपैयाँ शुल्क लाग्छ । घोडामा पर्यटक बोक्ने काम ४ वर्ष देखि गर्दै आएको उहाको भनाइ छ । ‘घोडा चलाएर दैनिक १२र१५ सय बचत गर्छौं,’ उहाले भन्नुभयो, ‘यसै आम्दानीले परिवार पालेको छु ।’

दैनिक कम्तिमा ५ पटक पर्यटक पुर्याएर फर्कन्छौ। गाडी पुग्ने स्थान धरमपानीबाट स्वर्गद्वारी मन्दिरमा पुग्न घोडामा १५ मिनेट र हिँडेर झन्डै आधा घण्टा लाग्छ ।