बजेटका सिद्धान्त र प्राथमिकता अर्धनिन्द्रामा निबन्ध लेखेजस्तोः बाबुराम भट्टराई


नेपाल समाचारपत्र, काठमाडौं ।

समाजवादी पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासन, शान्ति सुरक्षा र आर्थिक बृद्धिदर सरकारले दाबी गरे जस्तो अवस्थामा नरहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै भने, ‘बजेटका सिद्धान्त र प्राथमिकतामा वैचारिक अलमल र अस्पष्टता रहेको छ । यस्तो त अर्धनिन्द्रामा भएको मान्छेले लेखे जस्तो देखियो ।’

‘पछिल्लो तीन वर्षमा आर्थिक बृद्धिदर सुधारोमुख देखिएको छ । यो सकारात्मक कुरा हो । त्यो कुन आधारमा भएको छ । त्यसले निरन्तरता पाउने अवस्था छ कि छैन,’ उनले भने, ‘आगामि दिनमा दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्ने सकिने आधार के छ भन्ने विषयमा सोच्न आवश्यक हुन्छ । कहिले काँही मान्छे मोटाउँदा अत्यन्त मोटाएछ भने खुसी मनाउनु पर्ने हुन्छ । तर मान्छे कतिपय रोगको कारणले पनि मोटाएको हुन सक्छ । त्यसैले संरचनागत आधारको ठीक ढंगले पहिचान भएन भने शून्यको मोटाइ हुन्छ ।’

संघीयतामा छोटो समयमा सफलता हासिल गरिएको भनिएकोप्रति भट्टराईले असन्तुष्टि व्यक्त गरे ।

‘संघीयतामा छोटो समयमा सफलता हासिल गरिएको भनिएको छ । तीन तहका निर्वाचन भएका छन् । त्यहि ढंगले काम पनि भइरहेको छ । त्यो स्वागत योग्य कुरा हो । तर संघीताको सबै कुरा पुरा भइसक्यो भन्ने कुरा सत्य होइन, उनले भने, ‘अहिलेको नीति तथा कार्यक्रमा संविधान संशोधनको औचित्य र आवश्यकता छैन । सबै सहमत भइसके भने जस्तो त्रुटीपूर्ण ढंगले राखिएको पाइयो ।’

नेपालको संघीय संरचना पूर्ण नरहेको दाबी गर्दै संविधान संशोधन गर्नु पर्नेमा भट्टराईको जोड छ ।