दुर्गम गाउँमा सरकारको निशुल्क स्वास्थ्य शिविर, खच्चडमा औषधी ढुवानीे


धनवीर दाहाल,रुकुम ।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले रुकुम पुर्वको बिकट क्षेत्रमा सरकारले स्वास्थ्य शिविर संचालन गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका –८ रिबाङ्गचौरमा रहेको स्वास्थ्यचौकी जाङमा आइतबार देखी निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको आर्थिक सहयोग, पुथाउत्तरगंगा गाउँपालिकाको आयोजना र रुकुमेली सामुदायिक अस्पत्तालको प्राविधिक सहयोगमा दुईदिने स्वास्थ्य शिविर संचालन भएको हो । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने यहाँको सिस्ने, जाङ, प्वाङ्ग, चारगाउँ लगायतका बासिन्दालाई लक्षित गरेर गाउँमै स्वास्थ्य शिविर राखिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताउनुुभयो ।

निशुल्क स्वास्थ्य शिविरमा अत्याधुनिक सेवा सुविधा सहित अनुभवी विशेषज्ञले स्वास्थ्य चेकजाँच गर्ने बताईएको छ । शिविरमा विशेष गरेर स्त्रीरोग सम्बन्धी महिलाको तल्लो पेट, ढाड कम्मर दुख्ने, सेतोपानी बग्ने, गर्भवती महिलाको स्वास्थ्य चेकजाँच संगै भिडियो एक्सरे, इ.सी.जी, प्रयोगशाला, नाक, कान, घाँटी लगायतको उपचार गरिने भएको छ ।

सो निशुल्क स्वास्थ्य शिविरमा पुथाउत्तरगंगा गाउँपालिकाको वडानम्बर ७, ८, ९ र सिस्ने गाउँपालिकाको वडानम्बर १ र २ का नागरिक स्वास्थ्य चेकजाँच गर्न शिविरमा आएका छन् । शिविरको पहिलो दिन झन्डै तीनसय भन्दा बढीको स्वास्थ्य चेकजाँच तथा उपचार गरिने बताईएको छ । स्वास्थ्य शिविरमा निशुल्क औषधीको समेत व्यवस्था गरिएको छ ।

ग्रामिण भेगमा बसोबास गर्ने नागरिकको शिक्षा, स्वास्थ्य र आयआर्जनलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको ग्रामिण मुख्यमन्त्री कार्यक्रम रुकुम पूर्वका जिल्ला अधिकृत लिलामणि गौतमको भनाई छ ।

खच्चडमा औषधी ढुवानी

यसैबिच सडक नभएका कारण स्वास्थ्य शिविर संचालनका लागी खच्चडम औषधी ढुवानी गरिएको छ । औषधी तथा भिडियो एक्सरे लगाएतका आबश्यक सामाग्रीहरु पुथाउत्तरगंगाको देउखोलाबाट खच्चडमा ढुवानी गरेर पुर्याइएको सामुदायिक अस्पतालका व्यवस्थापक हरिबोल भारतीले बताउनुभयो ।