करौडौंको जग्गा फोटोकपीको भरमा पास

0
Shares

मनोज रेग्मी, काठमाडौं
अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता नं. १६ र २३२ को जग्गा फोटोकपीको भरमा पास गरिएको छ । यो जग्गा शैलजा भट्टको हो । यो हाल काठमाडौं महानगरपालिका–३२ मा पर्छ ।

काठमाडौंको तीनकुनेमा रहेको सो जग्गा ५ आना ० पैसा ३ दाम र १ आना २ पैसा ३ दाम क्षेत्रफल रहेको जग्गा अधिकृत वारेसनामाको फोटोकपी पेस गरेकै आधारमा मालपोल कार्यालय डिल्लीबजारले पटक–पटक थुप्रै व्यक्तिको नाममा पास गरेको पाइएको छ ।

शैलजा भट्टको नाममा रहेको जग्गा ०७५ पुस २३ गते मालपोत कार्यालय डिल्लीबजारले अधिकृत वारेसनामाको फोटोकपीकै भरमा मीनबहादुर तामाङ, वीरबहादुर तामाङ, जितेन्द्र विष्ट र सञ्जित थपलियाको नाममा पास गरिदिएको पाइएको हो ।

जिल्ला अदालत काठमाडौंले मालपोत कार्यालय डिल्लीबजारलाई उक्त जग्गा सक्कल अधिकृत वारेसनामाबाट पास गरिएको हो या होइन भनी ०७५ पुस २३ गते पत्र पठाएको थियो । तर, मालपोत कार्यालयले ०७५ फागुन १३ गते उक्त जग्गाको कागजात माग भएकोमा सक्कल अधिकृत वारेसनामा नभएको र सम्मानित अदालतले माग गरेको कागजात फोटोकपीको प्रमाणित प्रतिलिपि मात्रै रहेको जानकारी गराएको थियो । सो जग्गाको अधिकृत वारेसनामा लिने व्यक्ति हुन् नुवाकोटका स्थायी बासिन्दा कपिल तिमिल्सिना । तर, तिमिल्सिनाले सो अधिकृत वारेसनामा बदर भएपछि सो जग्गा पास गरिदिएको भनी जिल्ला अदालतमा मुद्दा परेपछि मात्रै मालपोत कार्यालयले गरेको केही व्यक्तिसँगको मिलेमतोमा अवैध प्रक्रियाबाट जग्गा पास गरेको खुलासा भएको हो ।

को हुन् शैलजा भट्ट
पशुपति मन्दिरका भट्ट गणेश शास्त्रीका सन्तान हुन् शैलजा भट्ट । यस काण्डका मुख्य प्रतिवादी मानिएका कपिल तिमिल्सिना उनकै परिवारसँग पहिलेदेखि नै जोडिएका थिए । यसै विश्वासका आधारमा गणेश शास्त्रीका नाति गंगाधर भट्टका छोरा उदय भट्ट हलवेले आफू अमेरिका जानुपर्ने भएकाले तिमिल्सिनालाई २०६३ असार १८ मा अधिकृत वारेसनामा दिएका थिए । त्यसपछि जग्गा बिक्री गर्न कपिल तिमिल्सिनालाई दिइएको थियो ।

तर, जग्गा समयमै बिक्री गर्न नसकेपछि २०७२ वैशाख १८ गते शैलजा भट्टले अधिकृत वारेसनामा फिर्ता लिएकी थिइन् । अंशवण्डापछि कायम भएको कित्ता नं. ५९३ र ३५१ को जग्गा २०७४ पुस २३ गते फोटोकपीकै भरमा मालपोत कार्यालय डिल्लीबजारले मीनबहादुर तामाङ, वीरबहादुर तामाङ, जितेन्द्र बिष्ट र सञ्जित थपलियाको नाममा पास गरिदिएको छ ।

अझ यस जग्गाको अर्को एउटा रहस्य पनि जोडिएको छ । जग्गामा खानी तथा भू–गर्भ विभागले लामो समयसम्म ग्यास उत्पादन हुन सक्ने भनी अधिकरण गरेर राखेको थियो । तर, सर्वाेच्च अदालतले जग्गामा यदि ग्यास निकाल्न सम्भव छ भने जग्गा अधिकरण गरी मुआब्जा दिनु, यदि सम्भव छैन भने जसको नामको जग्गा हो उसैलाई भोगचलन गर्न दिनु भनी फैसला गरको थियो । तर पछि खानी विभागले जग्गा भट्ट परिवारलाई नै फिर्ता दिएको थियो ।

सोही मौका छोपी तिमिल्सिना र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई थाहा नदिई फोटोकपीको भरमा ४ जनाको नाममा पास भएको पाइएको छ । तर, जग्गा प्रशासन निर्देशिका २०५८ को निर्देशन नं. १३१ मा ‘सक्कल अधिकृत वारेसनामा हराएमा नक्कलबाट कारोबार गर्नु हुँदैन’ भनी उल्लेख गरिएको छ । त्यसै गरी निर्देशन नं. १३० मा ‘वारेसनामामा उल्लेख भएको सबै जग्गा बिक्री भएको अवस्थामा सक्कल अधिकृत वारेसनामा खिची लिखत साथ राख्नुपर्छ’ भनी उल्लेख गरिएको छ ।

त्यति मात्रै होइन, कुनै पनि ठाउँमा फोटोकपी पेस गर्दा पछाडिपट्टि ‘सक्कलबमोजिम नक्कल ठीक छ’ भनी हस्ताक्षर गर्नुपर्छ । तर, त्यति बहुमूल्य जग्गा बिक्री गर्दा पनि मालपोत कार्यालय डिल्लीबजारले सक्कल कागजातबिना नै जग्गा पास गरेको पाइएको छ ।

पहिलेदेखि नै गतिलो सम्बन्ध स्थापित गर्दै आइरहेका कपिल तिमिल्सिनाको सहयोगमा अंशवण्डा नभएको ठाउँ ठाउँको जग्गा शैलजा भट्टले बिक्री गरेकी थिइन् । त्यसपछि पशुपतिनाथ मन्दिरका भट्टका सन्तान शैलजा भट्टका छोरा रमेश भट्टले जग्गाको खानतलासी गरेका थिए । हाल अबैध प्रक्रियाबाट बिक्री भएको तीनकुनेको जग्गा खानी विभागबाट फुकुवा गर्न शैलेश निकै लागेका थिए ।

सर्वाेच्चको फैसलाअनुसार खानी विभागबाट जग्गा फुकुवा भइसकेपछि शैलेसले आफ्नी हजुरआमाको सल्लाहमा मालपोत कार्यालय डिल्लीबजार पुगेर जग्गा खोजी गर्दा शैलजा भट्टको नामको जग्गा अर्कैको नाममा पास भइसकेको पाइयो । त्यसपछि उनले परिवारसँगको सल्लाहमा अदालतमा मुद्दा हालेका थिए ।

अहिले जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । अदालतले शैलेशलाई वारेरनामा बदर भएको सक्कल सूचना र तिमिल्सिनालाई वारेसनामाको सक्कल पेस गर्न आदेश दिएको छ । तर, यस जग्गा प्रकरणमा मुछिएका प्रतिवादीहरुले भने आफूहरुले कीर्ते नगरेको बताउँछन् ।