निर्माण सम्पन्न हुन लागेको पुलमा मेयरले चलाए डोजर, निर्माण व्यवसायी आतंकित


 

जंगली पारामा आफै आएर डोजर लगाए, मेयरले क्षतिपूर्ति तिर्नुपर्छ: निर्माण व्यवसायी

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ बालकोट र मध्यपुरथिमि नगरपालिका वडा नं. ४ शंखधरचोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुल माथि मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले डोजर चलाएर भत्काईदिएपछि पुल निर्माण कार्य अलपत्र परेको छ ।

जिल्ला विकास समितिको मातहतमा रहेर ३ नं. प्रदेश भौतिक पूर्वाधार कार्यालय धुलिखेल अन्तर्गत स्थानीय सडक पुल सहयोग ईकाई ललितपुरको प्राबिधिक सहयोगमा कूल २ करोडको लागतमा २०७२ साल बैशाखदेखि भण्डारी थोटुङ्ग÷श्यामबाबु जेबी कम्पनीले निर्माण सुरु भएको यो पुल अन्तिम चरणको काम सम्पन्न गर्दैगर्दा नगर प्रमुख आफैले पुल भत्काईदिएको हुन् ।

ढलान गर्न तयारी अबस्थामा राखेको डण्डी र बेसहरु डोजर लगाएर खोलामा खसालिएको छ । नगर प्रमुखले निर्माण कम्पनी, जिल्ला समन्वय समिति वा भौतिक पूर्वाधार कार्यालय कोहीसंग पनि समन्वय वा त्यसबारे जानकारी नगराई आफैले डोजर लगेर भत्काईदिदा पुल निर्माण कार्य नै अलपत्र परेको भण्डारी थोटुङ्ग÷श्यामबाबु जेबी कम्पनीका संचालक गणेश कार्कीैले बताउनुभयो ।

कार्कीले भन्नुभयो–“आज ढलनको तयारीमा थियौ, आजबाट पुल निर्माणको सबै काम सम्पन्न गरेर आगामी तीन सातामा यातायात संचालन गर्न सकिन्थ्यो तर मध्यपुरका मेयरले जंगली पारामा आफै आएर डोजर लगाएर सबै भत्काईदिएर गए ।”

निर्माण कम्पनीले केही गल्ती गरेको भए निर्माण रोक्न आदेश दिएको भएपनि काम रोकेर सहज तरिकाले काम गर्न दुबै पक्ष बसेर छलफल गर्न सकिनेमा छलफल, सहमति र सच्याउने बाटो नै बन्द गराएर डोजरले सोईलिङ्ग लगायत सबै भत्काएर खोलामा हालिदिएर गएको उनको गुनासो छ ।

निर्माण कम्पनीतर्फ कसैलाई पनि जानकारी नगराई एकतर्फी रुपमा मेयरले जबरजस्ती गरेको र यसबाट हुन आउने १५ लाखको क्षतिपूर्ती मेयरले नितिरेसम्म पुल निर्माणको बाँकी काम अगाडि नबढाउने उनले बताए ।

निर्माण कम्पनीका अर्का संचालक रामकुमार कार्कीले यसको क्षतिपूर्तिको व्यबस्था नभएसम्म बाँकी काम नगर्ने बताउनुभयो । स्थानीयबाट कुनै बिरोध नआएको र मानिसलाई आवत जावतमा समस्या आएपछि छिटो काम सकेर सहजता ल्याउने खोजेकोमा मेयर आफैले त्यसमा बाधक बनेको बताए । यसबारेमा नेकपा जिल्ला अध्यक्षसंग बचन देउजासंग समेत छलफल गरेको र यो एजेण्डालाई पार्टीको बैठकमै राखेर छलफल गर्ने बचन दिनुभएको उहाँले बताउनुभयो ।

कार्कीले भन्नुभयो–“दुईपटक खोलामा बाढी आएर पुल ढलान गर्न फर्मा बाधेर राखेको फर्मा दुई पटक बगायो, नोक्सान व्यहोरेर पनि काम गरौ भनेर लाग्दा अहिले मेयर आफैले निर्माण सामग्री समेत खोलामा हाले अब यो ठाउँमा कसरी काम गर्नु ।”

मध्यपुरथिमि क्षेत्रमा खोलाको मापदण्ड मिचेर करिडोरलाई समेत असर गरेर बनाईएका टहरावालाहरुको मेयरले कुरा सुनेर पुल भत्काउन आएको गुनासो गर्दै निर्माण कम्पनीका संचालकहरुले मापदण्ड विपरित बनेका टहरा हटाउनु पर्ने मेयर आफैले उनीहरुको साथ दिएको गुनासो गरेका छन् ।

यता नगरपालिकाका मेयर सुन्दर श्रेष्ठले निर्माण कम्पनीले मापदण्ड र नियम विपरित पुल बनाएको र स्लोभ ढलान गर्न सकिनेमा त्यसो नगरी स्थानीयको बिरोधको बाबजूद पनि बस्तीलाई नै जोखिम हुनेगरि मापदण्ड मिचेर काम गरेपछि बेस ईन्जिनियर सहितको टोलीले अनुगमन गर्दा गलत देखिएकाले भत्काईदिएको बताए ।