रुकुममा गाडी दुर्घटना: एकको मृत्यु,एक घाईते


धनवीर दाहाल,रुकुम । मुसिकोट नगरपालिका-६ भण्डारीकाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसाे ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणि गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ प्वाङका तिलक खड्का घाइते भएका छन् । कुखुरा बोक्ने बोलेरो गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घाईतेको जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचार भईरहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भैरहेको र थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।