सल्यानमा भिषण आगलागीः २ जनाको मृत्यु, १ जना गम्भीर 


सरिता चलाउने, सलयान

सल्यानमा आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । जिल्लाको बिभिन्न सामुदायिक बनमा लागेको आगोमा परी २ जनाको मृत्यु भएको हो ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडामा भएको भीषण अगलागीमा आगो निभाउने क्रममा मृत्यु हुनेमा सिमपानीका ५५ बर्षीया पेन्टी बोहरा रहेको प्रहरीले पुष्टी गरेको छ । आगोमा परि सोहि ठाउँका ४० बर्षिय खगेन्द्र बोहरा गम्भीर घाईते भएका छन् । घाईते बोहराको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

यस्तै जिल्लाको शारदा नगरपालिका ९ दुवेरी पुनटोलका अन्दाजी ६० बर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायीक वनमा लागेको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । बैशाख २४ गते घरबाट निस्कीएका उनि परिवारको सम्पर्कमा नआएपछि खोजिकार्य गर्दा शुक्रबार बेलुका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका इनिस्पेक्टर पंचलाल गोलेले बताउनु भयो ।

बैशाख २४ गते देखि सामुदायिक वनमा आगलागी भएको र त्यतीखेर नै बाटोमा हिड्ेका उनि जलेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक पुनको आगलागीमा परी भिरबाट ३ सय मिटर तल लडेर जलेको अवस्थामा लास फेला परेका हो । उनको शरिरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ ।

यस्तै बिहीबारदेखि लागेको डढेलो निभाउन नसक्दा शुक्रबार बेलुकी तिर तुसारे सिमपानी नजिकै रहेको बस्ती रामकाँडामा ६ घर र चार गोठ गरि १० घरगोठ जलेर नष्ट भएको छत्रेश्वरी गाउापालीका वडा नम्बर ६ का वडा अध्यक्ष चुडामणी दसौतीले बताउनु भयो । उहाँका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी छ । डढेलोका कारण रामकाँडाका जीतबहादुर रानाको दुई घर, ओमबहादुर राना, टुल्कबहादुर राना, पदमबहादुर राना, गौरीलाल लगायतको छ घर र चार गोठ जलेर नष्ट भएका छन् ।

डढेलोका कारण घर नष्ट हुनुका साथै घरमा भएका सम्पूर्ण सामग्री लत्ताकपडा, खाद्यान्न घरमा राखेको पैसा, गरगहना जलेर नष्ट भएको सामुदायिक वनका अध्यक्ष रामबहादुर बुढाथोकीले बताउनु भयो ।

डढेलोले बस्ती भेटाएपछि स्थानीयलाई बचाउन शुक्रबार सुरक्षित ठाँउमा स्थानान्तरण गरिएको भए पनि बिहान डढेलो निभाउने क्रममा एकजनाको ज्यान गएको वडा अध्यक्ष दशौदीले बताउनु भयो ।

शुक्रबार बस्तीमा लागेको आगो निभाउन प्रहरी सेना, सशस्त्र प्रहरी सफल भए पनि राति हावाहुरी चलेपछि पुनः डढेलो फैलिदाँ जोखिम बढ्दै गएको उहाँले जानकारी गराउनु भयो ।

यसैबिच शनिबार शारदा नगरपालिका २ लुहापिङमा रहेको सशस्त्र ब्यारेक नजिकै आगलागी भएको प्रहरीले जनाएको छ । कपुरकोट गाउँपालिकाको मुलपानीमा आगलागीले पनि स्थानीय ब्रिजलाल खड्काको घर जलेर नष्ट भएको छ भने शारदा नगरपालिका १० मदना नजिकै भएको आगलागीले पनि एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हुरीबतासका कारण जिल्लाका विभिन्न जंगलमा लागेको डढेलो निभाउन गाह्रो भएको प््रहरीले जनाएको छ ।

सल्यानका अधिकांस वन जंगलहरु सल्लाको भएकाले आगलागी हुन भन्दै सुरक्षकर्मीहरुले सजक हुन आग्रह गरेका छन् । जंगलमा लागेको आगो जतिखेर पनि गाउँ पस्न सक्ने भन्दै सजकता अपनाएर संभावित क्षेत्रको ख्याल गर्न आग्रह गरेका छन् ।