पिक बोकेर चट्टान फुटाउँदै जनप्रतिनिधि


हेटौंडा,(नेस) ।
मकवानपुरगढी गाउँपालिका–२ का अध्यक्ष बखानसिं पाख्रिनसहित टोलीले मोटरबाटो निर्माणमा श्रमदान गरेको छ । वडाको हेमकर्ण कालीदेवी तल्लो छाप मोटरबाटोमा श्रमदान गरिएको हो ।

पिक बोकेर चट्टान फुटाउँदै गरेका स्थानीय भन्छन्–घरनजिक मोटर आउँछ भनेर सोचेकै थिएनौं । ऐतिहासिक गढी दरबार नजिक भए पनि मोटरबाटो नहुँदा विकास नभएको जस्तो लाग्ने उनीहरु बताउँछन् । ढुंगामा पिकले हान्दै उनीहरुले जनप्रतिनिधि पनि सँगै काम गरेकोमा खुशी व्यक्त गरे ।

गाउँपालिकाले वडाहरुमा भएका विकासका काममा जनप्रतिनिधिले श्रमदान गर्नुपर्ने अवधारणा ल्याएपछि पालिकाका जनप्रतिनिधि श्रमदान गर्दै आएका छन् । वडाका विभिन्न समयमा भएका विकास निर्माणको काममा श्रमदान गर्दै आएका अध्यक्ष पाख्रिन वडाबासीसँगै काम गर्दा मन प्रफुल्ल भएको बताउनुभयो ।

आफूसँगै अरुले पनि काम गर्ने भएकोले विकासका काममा श्रमदान गरिरहेको उनको भनाइ छ । अन्य बार वडामा कामको चाप बढी हुने भएकोले शनिबार पारेर बाटो खनिएको हो । उहाँसँगै वडा सदस्य रामप्रसाद पुडासैनी, वडा कार्यालयका कर्मचारी हरिप्रसाद देबकोटा पनि श्रमदानमा व्यस्त हुनुहुन्थ्यो ।

कान्तिलोकपथबाट करिब २ किलोमिटर ८ सय मिटर हिँडेपछि छाप पुगिने हेमकर्ण कालीदेवी तल्लो छाप मोटरबाटो उपभोक्ता समिति अध्यक्ष जीतमान ब्लोनले बताउनुभयो । सोही बाटोले २ सय घरधुरी लाभान्वित भएका छन् ।

पालिकाको सम्झौताअनुरुप सांसद् कोषबाट निकासा भएको ९ लाख ९५ हजार बजेटअनुरुप काम गरिएको अध्यक्ष ब्लोनले बताउनुभयो । पुरानो ट्रयाक सफाइ र नयाँ ट्रयाक खनिएको हो । श्रमदानमा महिलासहित ६५ जनाको सहभागिता थियो ।

६ मिटर चौडार्इंमा मोटर बाटो निर्माण भएको छ । मोटरबाटोमा ठूला ३ वटा खोल्सा रहेकाले गाउँपालिकाले अबको बजेटमा केही रकम छुट्याएर वालसहित ह्युमपाइप हाल्न सकिए बर्खामा पनि सहजरुपले मोटर चलाउन सकिने अध्यक्ष ब्लोनले बताउनुभयो ।