मन्दिरलाई ४ कठ्ठा जग्गा दान


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–४ मधवलकी ८० वर्षीया एक ज्येष्ठ नागरिक शिवदुलारी देवी बरहीले मन्दिर विकास समितिलाई ४ कठ्ठा जग्गा दान गर्नुभएको छ ।

उहाँले स्व.श्रीमान् पारसनाथ प्रसाद बरहीको नाममा जग्गा दान गर्नुभएको हो । चौरसिया सेवा समितिले नेपाल पत्रकार महासंघ पर्सामा आयोजना गएको कार्यक्रममा बरहीले मन्दिर विकास समिति र श्री हनुमान मन्दिर विकासको नाममा जग्गाको लालपुर्जा हस्तारन्तरण गर्नुभएको हो । उहाँले भन्नुभयो ः‘मेरो श्रीमानको सपना थियो, समाजको उत्थानको लागि केहि गरौं। तर, उनले गर्न सकेका थिएनन् उनको सपना पुरा गर्न आफूले समाजको लागि चौरसिया समाज रमन्दिरलाई जग्गा उपलब्ध गराएको हुँ।’
शिवदुलारीले बिन्दबासिनी गाउँपालिका–४ मधवल टोलमै रहेको जग्गामध्ये चौरसिया (बरई) सेवा समिति वीरगन्ज–१६ पर्सालाई २ कठ्ठा र हनुमान मन्दिर विकास समिति बिन्दबासिनी–४ इटियाहीलाई २ कठ्ठा दान गर्नुभएको हो । बरहीले दान गरेको जग्गाको मूल्य १२ लाख रहेको चौरसिया सेवा समितिका सचिव योगेश्वर प्रसाद चौरसियाले जानकारी दिनुभएको छ ।