बिद्यालयका जग्गा दाता सम्मानित


पर्वत, (नेस) ।
पर्वतको महाशिला गाउँपालिका वार्ड नं. ६ फलामखानीमा दुई बिद्यालयलाई २४ रोपनी जग्गा निशुल्क सहयोग गर्ने जग्गादाता सम्मानित हुनुभएको छ ।

महाशिला गाउँपालिका वार्ड नं. ६ फलामखानी दाद्रा घर भई रुपन्देहीको मणिग्राममा बस्दै आउनु भएका समाजसेवी शेरबहादुर गुरुङलाई मदन आश्रित माबि र फलामखानी आधारभूत बिद्यालयले सम्मान गरेका हुन ।

गुरुङ्गले फलामखानी आधारभूत बिधालयलाई १० रोपनी र मदन आश्रति माध्यमिक बिधालयलाई १४ रोपनी जग्गा प्रदान गर्नुभएको हो । दुबै बिधालयले भब्य समारोहका बिच जग्गादाता गुरुङलाई अभिनन्दन गरेका छन् । अभिनन्दन कार्यक्रममा गुरुङले करिब २४ लाख पर्ने जग्गाको लालपुर्जा बिधालयहरुलाई हस्तान्तरण गर्नुभएको छ ।

जग्गादाता गुरुङले आफ्नो जन्मभुमिमा रहेका बिधालयहरुको शैक्षिक प्रगतिको लागि आफुले निशुल्क जग्गा प्रदान गरेको बताउनुभयो । आगामी दिनमा पनि आर्थिक तथा भौतिक सहयोग गर्दै जाने र बिधालयमा शैक्षिक गुणस्तरको लागि सवैले सकारात्मक सहयोग गर्नुपर्ने गुरुङले बताउनुभयो ।

सोही अवसरमा फलामखानी आधारभूत बिधालयमा गुरुङले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको लागि १ लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको बिधालयका प्रअ गोविन्द बहादुर बिश्वकर्माले जानकारी दिनुभयो । गुरुङले मदन आश्रित माबिमा आगामी बर्षदेखी कक्षा ११ र १२ संचालन गर्नको लागि ८ लाख दिने घोषणा गर्नुभएको बिधालयका प्रअ खडक बहादुर क्षेत्रीले बताउनुभयो ।

यसअघि पनि बिधालयमा माबि संचालन गर्नको लागि १ लाख ६८ हजार रुपैयाँ सहयोग गर्नुभएको क्षेत्रीले बताउनुभयो । बिधालयमा सबै सरोकारवालाको साथ र सहयोग रहेमा कक्षा ११ र १२ संचालन गर्न कुनै समस्या नभएको क्षेत्रीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै महाशिला गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेलले शैक्षिक क्षेत्रको उन्नति प्रगतिको लागि गुरुङले बिधालयलाई जग्गा प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै मदन आश्रतिमा प्राबिधिक धार तर्फ ११ र १२ कक्षा संचालन गर्नको लागि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।