नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ केन्द्रीय सञ्चालक समितिको पाँचौ महाधिवेशन सम्पन्न


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ केन्द्रीय सञ्चालक समितिको पाँचौ महाधिवेशन सम्पन्न भएको छ । जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा सञ्चालन भएको उक्त महाधिवेशनको माननीय कार्यवाहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच समुद्घाटन गर्नु भएको थियो ।

महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै कार्यवाहाक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्र पोखरेलले यस महाधिवेशनका आयोजकहरुलाई निमन्त्रणाको लागि हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।

सोही क्रममा उहाँले यस महाधिवेशनबाट नेतृत्व चयन गर्दा विगतमा भू.पू.सैनिकहरुको समस्याहरुको समिक्षा गर्नुपर्ने र यसको जगमा रही योजना बनाउदा फलदायी हुने बताउनु भएको थियो । सम्बोधनको क्रममा उहाँले विश्व सामु वीर गोरखालीको रुपमा परिचय प्राप्त गर्न वीर सैनिकहरुले पुर्‍याएको योगदान र बलिदानबाट सम्भव रहेको हुँदा यसले सिङ्गो देशको प्रतिष्ठा बढाउनुका साथै देशको लागि अपरिहार्य रहेको भूतपूर्व सैनिक जनशक्तिले समाजको विकासमा समेत महत्वपूर्ण भूमिका निभाई नेपाल सरकारको लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ मा प्रत्यक्ष रुपमा टेवा पुर्‍याउन रक्षा मन्त्रालय, बहालवाला तथा भूतपूर्व सैनिकहरुको सहकार्यमा सम्भव हुने कुरा बताउनु भएको थियो ।

कार्यक्रमको क्रममा बलाधिकृत रथी शरद कुमार गिरीले नेपाली सेनाको तर्फबाट शुभकामना दिनु हुँदै नेपाली सेनाका संस्थागत मुल्य–मान्यताहरु, रिती–रिवाज र पेशेवर संस्कारलाई अवकाश पश्चात पनि जीवन्त राख्न यहाँहरुले खेल्दै आउनु भएको भूमिका महत्वपूर्ण रहेको र भविष्यमा पनि रहिरहनेमा विश्वस्त रहेको बताउनु भयो ।

उक्त महाधिवेशनबाट नेपाल सरकारको संघिय संरचना अनुसार ७७ वटा जिल्ला मध्ये हाल ६० जिल्लामा छरिएर रहेका भूतपूर्व सैनिकहरुको संगठनबाट केन्द्रिय सभापतिमा पूर्व केन्द्रिय सभापति सहायक रथी दिगम्वर शम्शेर निर्वाचित हुनु भएको छ । कार्यक्रमको दौरान उपस्थित भूतपूर्व सैनिकहरुबाट राय सुझावहरु संकलन गरी संघको विधान संशोधन गरिएको थियो ।

उक्त कार्यक्रममा पूर्वप्रधानसेनापति, नेपाली सेनाका बहालवाला एवम् अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, भूतपूर्व राष्ट्रिय सेवा सङ्गठन राष्ट्रिय समन्वय परिषद, भूतपूर्व नेपाल प्रहरी तथा भूतपूर्व शसस्त्र प्रहरी सङ्गठनका पदाधिकारीहरु, ६० जिल्लाका नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका पदाधिकारीहरु उपस्थिति रहेको थियो ।