सशस्त्र प्रहरीद्वारा राँगा र भैंसी नियन्त्रणमा


कृष्णउदास खनाल, वीरगन्ज ।
सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बाट ३१ वटा राँगा र भैंसी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १४ नं. गुल्म हेडक्वाटर राजश्व तथा भन्सार सुरक्षा गस्ती पर्साको टोलीले वीरगन्ज ३२ सोलखपुर राँगा र भैंसी नियन्त्रणमा लिएको हो ।बरामद गरिएको राँगा भैंसीको बजार मूल्य ७ लाख रहेको अनुमान सशस्त्र प्रहरीले गरेको छ ।

पर्साबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ३१ वटा राँगा, भैसी, पाडापाडी बरामद गरिएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिनुभयो ।

राँगा भैंसी ल्याउने व्यक्ति भने भागकोले पक्राउ गर्न नसकिएको उनको भनाइ छ । नियन्त्रणमा लिएको राँगा, भैसीं आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले पछिल्ला दिनमा पशु चोरी निकासीमा चासो दिएको छ । एक महिनाको अवधिमा पर्साको बिभिन्न नाकाबाट राजश्व चुहावट गर्दै भारत लैजान खोजिएको एक सय भन्दा बढी चौपायाहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।