कालोपत्रे गर्न सडक बन्द, स्थानीय र प्रहरीबीच झडप

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । सडक तत्काल कालोपत्रे गर्न दवाव दिन भन्दै स्थानीयले बौद्ध–जोरपाटी सडक खण्ड बिहीबार विहान अबरुद्ध पार्दा प्रहरी र स्थानीय बीच झडप भएको छ ।

ठेकेदारले विभिन्न बहानामा कालोपत्रे गर्न ढिलाई गरेको भन्दै सडकमा स्थानीय उत्रीएपछि प्रहरीसँग स्थानीयको झडप भएको हो । त्यसपछि बौद्ध सडक विहानभरी तनावग्रस्त बनेको थियो ।

महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले स्थानीयले सडक अबरुद्ध गरेपछि भिडलाई हटाउने क्रममा झडप भएको बताउनुभयो ।

उहाँका अनुसार भिडलाई हटाई सवारी सुचारु गर्न ४ अश्रु गाँस प्रहार गरी दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिई साँझ छोडिएको छ ।

बौद्ध व्यापार संघको आयोजनामा बौद्ध क्षेत्रका व्यापारी तथा स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका थिए ।सडक कालोपत्रे नभएसम्मका लागि यस्तै दबावमूलक विरोध कार्यक्रम जारी राख्ने संघले जनाएको छ ।

प्रदर्शनमा निस्किएकाहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले ह्युमपाइप, पोल तेर्स्याएर, टायर बालेर र सडकको बीच बाटोमै बसेकाले सवारी आवागमनमा रोक लागेको थियो ।

लामो समयदेखि सडक मर्मत नहुँदा त्यस सडक प्रयोगकर्ता देखि स्थानीय व्यापारीले समेत कष्टपुर्ण दैनिकी विताउँदै आईरहेका छन् । घाम लाग्दा धूलोको सकस र पानी पर्दा पानीको आहालले त्यस सडक खण्डमा यातायात समेत प्रभावित पर्दै आइरहेको छ ।