मासुको बढ्दो उपभोग वातावरणका लागि हानिकारक (डरलाग्दाे तथ्य फेला)

0
Shares

एजेन्सी । पछिल्लो समय गरिब देशहरुमा समेत मासुको सेवन वृद्धि भइरहेको छ जसलाई स्वास्थ्यका हिसाबले उनीहरुले पोषणयुक्त खाना खान पाइरहेकामा राम्रो खबर मानिएको छ । तर अर्कोतर्फ धनी देशहरुमा चाहिँ बढ्दो सङ्ख्यामा मानिसहरुले मासु खान छाड्दै शाकाहारी जीवनशैली अपनाइरहेका छन् । तापनि बाँकी विश्वमा मासुको ट्रेन्डले अत्यन्तै तिव्र रुप लिइरहेको हुँदा वातावरणविद्हरुले यसप्रति गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।

यसरी मासुको उपभोग विश्वव्यापी रुपमा २००७ देखि १७ सम्मको जनसङ्ख्या वृद्धि भन्दा दुई गुणा बढी भइरहेको बताइएको छ । यसमा विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको चीनमा मात्र डायटमा पर्याप्त प्रोटिन र फ्याट समावेश गर्ने प्रयासका कारण मासुको सेवन अत्याधिक वृद्धि भइरहेको पाइएको छ । जस्तै १९६१ मा औसतमा एक चिनियाँले वार्षिक ४ केजी मासु मात्र खाने गर्दथे भने २०१३ मा यो तथ्याङ्क एक व्यक्ति बराबर वार्षिक ६२ केजी मासु पुगेको छ ।

यसैगरी अब भविष्यमा मुख्यगरी अफ्रिकाको सब–साहारा क्षेत्रमा पनि मासुको मागमा व्यापक वृद्धि हुने बताइएको छ । किनकी त्यहाँ मासुको मूल्य अत्यन्तै धेरै भएकाले प्रायः मानिसहरुले यसको सेवन नै गर्दैनन् भन्दा पनि हुन्छ  । तर सो क्षेत्रको जनसङ्ख्या अबको २० वर्षपछि १.१ अर्बबाट २ अर्ब पुग्ने निश्चित छ जसकारण नै अफ्रिका धनी बन्दै गए, त्यहाँका नागरिकहरुले मासुको अधिक उपभोग सुरु गर्ने बताइएको छ । यसले कुपोषणको शिकार रहँदै आएका अफ्रिकीहरुको स्वास्थ्यमा ठूलो सुधार ल्याउन सक्छ तर अर्कोतर्फ वातावरणमा पनि उत्तिकै नकारात्मक असर पार्ने बताइएको छ ।

असिमित रुपमा मासु सेवनको प्रवृत्तिलाई वास्तवमै वातावरणका लागि ठूलो समस्या मानिएको छ । यहाँसम्मकी ग्रिनहाउस ग्यास उत्सर्जन गर्नमा विश्वभरका सवारी साधन भन्दा पशु खेती बढी जिम्मेवार रहेको विज्ञहरुको भनाइ छ । यसबाट १४ प्रतिशत भन्दा बढी ग्रिनहाउस ग्यास उत्सर्जन हुने बताइएको छ । यसकारण नै मासुको सेवन यस्तो गतिमा वृद्धि हुनुले जलवायु परिवर्तनको गति झन बढाइदिने चेतावनी दिइएको छ ।

मासु उत्पादन गर्न अत्याधिक धेरै जमिन, ऊर्जा र पानी खर्च हुने भएकाले पनि यसको बढ्दो उपभोगलाई चिन्ताजनक मानिएको छ । संयुक्त राष्ट्र संघका अनुसार केबल एक पाउन्ड मासु उत्पादन गर्न १० पाउन्ड अनाज खर्च हुने गरेको छ भने अमेरिका एक्लैमा ५ करोड ६० लाख एकर जमिन पशुहरुका लागि अन्न उब्जाउन प्रयोग हुने गरेको छ । जबकी मान्छेका लागि केबल ४० लाख एकर जग्गामा मात्र अन्न उत्पादन भइरहेको छ । यसरी १९७० देखि यता अमेजोनको ९० प्रतिशत भन्दा बढी रेनफरेस्ट पशुपालनका लागि नै नष्ट गरिएका छन् । त्यस्तै एउटा साधारण सुंगुर फार्मले १२ हजार मानिस बस्ने शहर जत्तिकै फोहोर उत्पदान गराउँछ । अर्थात यसबाट उत्पन्न हुने फोहोर पनि उत्तिकै समस्याजनक मानिएको छ । त्यसैले मासुको उपभोग सिमित गर्दै लैजानुपर्ने विज्ञहरु बताउँछन् ।

द इकोनोमिस्टबाट भावानुबाद