क्यान्सर रोग नियन्त्रणमा सरकार उदासीन



नेपालमा सर्ने भन्दा नसर्ने रोगका कारण जनताको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न थालेको छ । केही वर्षअघिसम्म एकबाट अर्कोमा सर्ने रोगको महामारीका कारण नेपालमा बर्सेनि हजारौंले ज्यान गुमाउने गरेकोमा अहिले भने नसर्ने रोगका कारण मर्नेको संख्या ह्वात्तै बढेको छ । नसर्ने रोगमध्ये पनि क्यान्सर रोगका कारण नेपालमा हरेक वर्ष मर्ने नेपालीको संख्या दोब्बरले वृद्धि भएको तथ्याङ्क सार्वजनिक हुन थालेको छ । असन्तुलित खानपान र बललिँदो जीवनशैलीका कारण क्यान्सर रोग तीव्र गतिमा फैलन थालेको छ । नेपालमा धूमपान र मद्यपान गर्नेको संख्या दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेकाले पनि क्यान्सर रोगीको संख्या बढ्दै गएको छ ।

नेपालमा मद्यपान र धूमपान गर्नेको संख्यामा नियन्त्रण ल्याउन सक्ने हो भने क्यान्सर रोगीको संख्यामा ५० प्रतिशतले कमी ल्याउन सकिने विज्ञहरूले दाबी गरेका छन् । हरेक वर्ष नेपालमा ३० देखि ४० हजारको संख्यामा क्यान्सर रोगीहरू थपिने गरेका छन् । यो रोग लागेपछि शुरूमा नै उपचार गराउन सके क्यान्सर रोगलाई नियन्त्रण गर्न सकिने भए पनि उपचार पद्धति नै महँगो रहेको छ । नेपालमा क्यान्सर रोग लागेको अन्तिम स्टेजतिर मात्रै पत्ता लाग्ने गरेका कारण खर्च पनि हुने र मानिसको मृत्युसमेत हुन सक्ने भएकाले क्यान्सर रोग नियन्त्रणका लागि जनचेतना व्यापक बनाउनुपर्ने देखिन्छ ।

नेपालमा अहिले पनि १ लाखभन्दा बढी क्यान्सर रोगी रहेको अनुमान गरिएको छ । क्यान्सरबाट मर्नेको भन्दा नयाँ रोगीको संख्या अधिक हुँदै गएकाले यसले नेपालको अर्थतन्त्रमा समेत असर पर्ने देखिन्छ । क्यान्सर रोग उपचार पद्धति नै महँगो भएको कारण गरिबीको रेखामुनि रहेका नेपालीहरूमा क्यान्सर रोग देखा परे उपचारका लागि घर–खेत बेच्नुपर्ने र अन्त्यमा सुकुम्बासी जीवन नै बिताउनुपर्ने अवस्थासमेत सृजना हुने गरेको छ । यस्ता घातक प्रकारका रोग लागेका व्यक्तिको उपचारका लागि राज्यले पहल गर्नुपर्ने देखिन्छ ।

अहिले राज्यका तर्फबाट भएका पहल सकारात्मक भए पनि पर्याप्त मात्रामा भने छैन । शिक्षा, स्वास्थ्यजस्ता वस्तुमा राज्यले नागरिकको जिम्मा लिनुपर्ने हो तर नेपालमा त्यो भएको पाइँदैन । शिक्षा र स्वास्थ्यमा नेपाली जनताले व्यक्तिगतरूपमा लगानी गर्नुपर्ने अवस्था अझै विद्यमान रहेको कारण जनताको व्यक्तिगत आयमा समेत हरेक दिनजसो ह्रास आउन थालेको छ । जनताको जीवनस्तर उकास्ने हो भने राज्यले यी दुई निकायमा लगानी बढाउनुको विकल्प छैन । अन्य विकसित मुलुकमा यस्तो अभ्यास भएका कारण त्यहाँका जनता जसरी पनि कमाउनुपर्छ भन्ने मान्यता विपरीत छन् भने हामीकहाँ जसरी पनि कमाउनुपर्छ भन्ने मान्यताले प्रश्रय पाएको देखिन्छ । यसले भ्रष्टाचारलाई समेत बढवा दिएको पाइन्छ । यसतर्फ राज्य समयमा नै गम्भीर बन्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्