म्याग्दीका सात सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालन


प्रताप बानियाँ, म्याग्दी ।
हिमाली जिल्ला म्याग्दीका सातवटा सामुदायिक वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन भएको छ । सामुदायिक वन क्षेत्रलाई आयमूलक क्षेत्रमा रुपान्तरण गर्ने, वनको कोष वृद्धि गर्ने तथा धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धनको उद्देश्यसहित पर्यापर्यटन कार्यक्रम लागू गरिएको हो ।

पर्यापर्यटन कार्यक्रम लागू भएका सामुदायिक वनहरुमा बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित बगरफाँट सामुदायिक वन, बेनपा–५, पुलाचौरको पौलस्त्य आश्रम गिठिनी सामुदायिक वन र पुला गाजने सामुदायिक वन तथा बेनपा–६, अर्थुङ्गेको खैरेनी सामुदायिक वन रहेका छन् । यसैगरी धौलागिरी गाउँपालिका–३, मुनाको दहपातल सामुदायिक वन, मालिका–५, को भीरखर्क सामुदायिक वन र रघुगंगा–५, झीँको सिद्ध सामुदायिक वन उपभोक्ता समूह छनोट भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

ती सामुदायिक वन उपभोक्ता समूहमार्फत सामुदायिक वन क्षेत्रमा पिक्नीक स्पोट निर्माण गर्ने, मठमन्दिर पुनर्निर्माण तथा मर्मत, मन्दिरको घेराबार एवं शौचालय निर्माण, पदमार्ग निर्माण जस्ता कामहरु अगाडि बढाइएको छ । कार्यक्रमबाट प्रत्येक सामुदायिक वनलाई पाँचपाँच लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको छ भने त्यसमध्ये स्थानीयले २० प्रतिशत रकम बेहोनुपर्ने हुन्छ । प्रसिद्ध जगन्नाथ मन्दिर परिसरमा शौचालय निर्माण गरिएको छ भने घेराबार लगाउने कार्यक्रम समेत रहेको छ ।

सामुदायिक वन क्षेत्रमा विभिन्न किसिमका संरचनाहरुको निर्माण गरेर जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन वृद्धि गर्ने उद्देश्य समेत कार्यक्रमको रहेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिएका छन् । उनका अनुसार सातवटा सामुदायिक वनमध्ये बेनपा–२, बगरफाँट र अर्थुङ्गेको सामुदायिक वन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेश सरकारबाट बजेट आएको बताइएको छ । यसैगरी अन्य सामुदायिक वन क्षेत्रमा कार्यक्रमका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएको सहायक वन अधिकृत बल्छौडीको भनाइ छ ।

कार्यक्रममार्फत वन्यजन्तु सफारी तथा अवलोकन, भ्यु टावर निर्माण, संस्कृतिको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक विकासमा टेवा पु¥याउन कार्यक्रम अगाडि सारिएको जनाइएको छ । सामुदायिक वन क्षेत्रभित्र भएका पुरातात्विक बस्तु, मठमन्दिरको संरक्षण र विकास गर्ने तथा हरियाली प्रवद्र्धन गरेर पर्यटक आगमन बढाउने र आयआर्जनसँग जोड्ने कार्यक्रमको उद्देश्य रहेको छ । सामुदायिक वन क्षेत्रमा जडिबुटीको समेत खेती गर्न सकिने सम्भावना रहेको छ ।

सामुदायिक वन क्षेत्रलाई स्थानीयवासिन्दासँग आर्थिक उपार्जनका हिसाबले जोड्ने गरी पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमबाट स्थानीयले विभिन्न किसिमका आयमूलक गतिविधिहरु सञ्चालन गरेर आफ्नो आर्थिकस्तर पनि माथि उठाउन सक्ने देखिन्छ । सरकारले वन क्षेत्रलाई समुदायमा हस्तान्तरण गरेसँगै नेपालमा सामुदायिक वन क्षेत्रको संरक्षण तथा संवद्र्धनमा वृद्धि भए पनि यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।