प्रदेश नम्वर १ को राजधानी विराटनगर, नाममा सहमति जुटेन

0
Shares

सरोज यादव विराटनगर,
प्रदेश नम्वर १ को स्थायी राजधानी विराटनगर हुने भएको छ । प्रदेश नम्वर १ को प्रदेश सभामा सोमबार भएको मतदानपछि विराटनगर राजधानी हुने टुंगो लागेको हो ।

नेकपाको तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार भण्डारीले राखेको प्रस्तावमा दुई तिहाइ मतले विराटनगरलाई राजधानी बनाउने पक्षमा मत खसेको थियो । कुल ९३ सदस्यीय प्रदेश सभाका सदस्य मध्ये ८६ जनाले विराटनगरलाई राजधानी बनाउनु पर्ने पक्षमा मतदान गरेका थिए भने बिपक्षमा सून्य मत परेको थियो ।

प्रदेशको नाम भने टुंगो लागेको छैन । विराटनगर, इटहरी र सुन्दर हरैँचामा प्रदेश नम्वर १ को कार्यालय रहने भएको छ । यसअघि विराटनगर र धनकुटालाई सदरमुकामा तोक्न प्रदेशसभामा चारवटा प्रस्ताव दर्ताका भएका थिए ।

नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापिका लगायत अन्य संरचना वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहैंचा क्षेत्र आसपासमा रहने छ भन्ने प्रस्ताव दर्ता गरेको थियो ।

नेकपाको तर्फबाट प्रमुख सचेतक राजभण्डारीले दर्ता गराएको प्रस्तावको समर्थन लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी र विजयकुमार विश्वाले गर्नुभएको थियो । नेकपाले प्रदेश संरचना छर्ने गरी राजधानी दर्ता गराएको भन्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगर स्थायी राजधानी हुनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

उक्त प्रस्तावमा संघीय समाजवादी फोरमका जयराम यादव र कांग्रेसका शिवनारायण गन्गाईले समर्थन गर्नुभएको थियो । धनकुटा राजधानी प्रस्ताव गर्दै कांग्रेसकी लीला सुब्बाले दर्ता गराएको प्रस्तावको समर्थकमा कांग्रेसका प्रकासप्रताप हाङ्गाम र रामचन्द्र लिम्बूले समर्थन गर्नु भएको थियो । नेकपाकै निरन राईले दर्ता गरेको धनकुटा राजधानीको प्रस्तावमा नेकपाका इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठले समर्थन गर्नु भएको थियो ।

यी सबै प्रस्ताव सोमबार बसेको प्रदेशसभा बैठकमा फिर्ता भएका थिए । यसअघि विराटनगरमा आन्दोलनरत पक्ष र प्रदेश सरकार बीच सोमबार विराटनगरमा भएको वार्तामा कार्यपालिका, व्यवस्थापिकलगायतका सम्पूर्ण संरचनासहित प्रदेश नम्वर १ को स्थायी राजधानी विराटनगर राख्ने सहमति भएपछि स्थायी राजधानी विराटनगर बन्ने पक्का भएको थियो ।

सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएसँगै आन्दोलन फिर्ता भएको छ ।

प्रदेश सरकारले छलकपटपूर्ण तरिकाले राजधानी अन्यत्र सार्ने षड्यन्त्र गरेको भन्दै विकेन्द्रीत नगरी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै आइतबार विराटनगर महानगरपालिकाको अगुवाईमा भएको सर्वपक्षीय बैठकले आन्दोलनमा जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार विहानैदेखि बन्द हड्ताल सहित ठाउँ ठाउँमा प्रदर्शन गरिएको थियो ।