फोरम र नयाँ शक्तिबीच एकता

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको छ । दुई पार्टीबीच एकता भएपछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको हो ।

सोमबार राजधानीमा आयोजित एकीकरण घोषणा कार्यक्रममा दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरिएको थियो । एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक डा.बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको थियो ।

सहमतिमा संघीयता र समाजवादको सिद्धान्तमा स्थापित फोरम र प्रगतिशील लोकतान्त्रिक शक्तिको रुपमा स्थापित नयाँ शक्तिबीच पार्टी एकीकरण गरेर समाजवादी पार्टी नेपाल स्थापना गरिएको उल्लेख गरिएको छ ।

समाजवादी पार्टीको राजनीतिक कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिलाई रक्षा र विकास गर्नु रहने समझदारी पत्रमा बताइएको छ । त्यसैगरी एकीकृत पार्टीले फोरमले अबलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्तिले अबलम्बन गर्दै आएको समुन्नत समाजवादको आधारमा समुन्नत संघीय समाजवादको सिद्धान्त अघि सारिएको छ ।

एकीकृत पार्टीले सैद्धान्तिक वैचारिक मान्यताको आधारमा राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थालगायतका मूल्य र मान्यताहरु आत्मसात गर्ने भएको छ ।

यस्तै दुई पार्टी संघीय राज्य बनाउन प्रतिवद्ध रहेको र त्यसका लागि संविधानसभाद्वारा गठीत उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गर्नुपर्नेमा जोड दिइएको छ । नयाँ पार्टी समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गरिने छ । यो एकीकरणसँगै नेपालमा नयाँ वैकल्पिक शक्तिको उदय भएको सहमतिपत्रमा दाबी गरिएको छ ।

-सरकारमाथि भट्टराई र यादवको कटाक्ष
-११ प्रदेश बनाउने घोषणा
-जुनसकै बेला पनि सरकार छोडन सक्छौः भट्टराई
-२५ जना पदाधिकारी\

पार्टी एकीकरणपछि समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउने अभियानमा पार्टी एकीकरण गरेर अर्को नयाँ छलाङ मारिएको बताउनुभयो । एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दुई पार्टी एकीकरण गरेर देशलाई समृद्ध बनाउनका लागि अर्को नयाँ छलाङ मारिएको बताउनुभयो ।

सत्तारुढ दल नेकपाप्रति आक्रामक रुपमा प्रस्तुत भएका भट्टराईले नेकपा कम्यूनिष्ट पार्टी नभएर कमाउवादी कम्यूनिष्ट पार्टी भएको आरोप लगाउनुभयो । ‘मधेसको मुद्धा समाधान भएन भने देशमा अन्तराष्ट्रिय अखडा बन्न सक्छ । हामी विशेष गरी मधेशमा केन्द्रित भएर काम गर्ने छौ’ भट्टराईले भन्नुभयो ‘ओली सरकार काण्डैकाण्डमा फसेको छ, देशलाई कंगाल बनाउन कहिले एनसेल काण्ड, कहिले बाइडबडी त कहिले ललिता निवास काण्ड भइरहेको छ ।’

उपप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालका कार्यसमिति अध्यक्ष उपेन्द्र यादवले अहिलेका कम्युनिष्ट पार्टी कमाउनिष्ट पार्टी भएको बताउनुभयो । उहाँले अहिले कम्युनिष्टको बोवाला नभई कमाउनिष्टहरुको बोलबाला रहेको बताउनुभयो ।
प्रमुख प्रतिपक्ष दल कांगे्रसप्रति आक्रमक रुपमा प्रस्तुत हुनुभएका यादवले काँग्रेसको सिद्दान्त नै संवैधानिक राजतन्त्र भएको भन्दै सो पार्टी अहिले त्यसैमा लागेको बताउनुभयो । उहाँले राजपा नेपाललाई पनि एकतामा आउन आह्वान गर्नुभयो ।

यी हुन समाजवादी पार्टीको पदाधिकारी
समाजवादी पार्टीमा २५ जना पदाधिकारीको घोषणा गरेको छ ।संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको रहनुभएको छ । त्यसैगरी पार्टीको वरिष्ठ नेता अशोककुमार राइ र सह–अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहनुभएको छ भने महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव चयन हुनुभएको छ ।

उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह चयन हुनभएको छ भने कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाउनुभएको छ ।