सहकर्मी हत्या आरोपमा पूर्व सभासदलाई जन्मकैदको फैसला


कृष्णउदास खनाल, वीरगन्ज ।
तत्कालिन मुस्लिम इत्तेहाज संगठनका अध्यक्ष तथा तत्कालिन नेकपा एमाले नेता मोहमद आलमको हत्या प्रकरणमा पहिलो संविधानसभाका सदस्य समेत रहेका रामचन्द्र प्यासी कुशवाहा दोषी ठहर भएका छन् र उनलाई उच्च अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगन्जले पूर्वएमाले नेता प्यासीलाई आफ्नै पार्टीका नेताको ज्यान मुद्दामा कसुरदार ठहर गरेको हो। कर्तव्य ज्यान मुद्दामा प्यासीलाई बारा जिल्ला अदालतले गरेको सुरुको १० वर्षे फैसलालाई उल्टाउँदै जन्मकैदको फैसला सुनाएको छ ।

प्यासी बारा जिल्ला बन्जरिया बेलहीयाका पूर्वएमाले नेता हुन्। अघिल्लो संविधानसभा निर्वाचनमा प्यासी संविधानसभाको सदस्यसमेत थिए। दोस्रो संविधानसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रचारप्रसार गर्दै हिँडेका आफ्नै पार्टीका नेता मोहमद आलमको ज्यान मुद्दामा कर्तव्य गरेको यो फैसलाले पुष्टि गरेको छ।

उच्च अदालत अस्थायी इजलास वीरगन्जका मुख्य न्यायधिश डिल्लीराज आचार्य र अर्का न्यायधिश चन्द्र बहादुर सारुले उनीलगायतका कसुरदारले कसुर गर्दाको समयमा प्रचलित कानुनबमोजिम तोकिएभन्दा बढी सजाय नहुने गरी ज्यानसम्बन्धी महलको १६ नम्बर बमोजिकको फैसला सुनाइएको उच्च अदालत अस्थायी इजलास वीरगन्जका रजिष्टार जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।

उच्च अदालत वीरगन्जका न्यायधिशहरु आचार्य र सारुको संयुक्त इजलासले गरेको उहाँको भनाइ छ। सो घटनामा अन्य चार भारतीय सहयोगी तथा सुटरका हकमा भने न्यायधीशद्वय आचार्य र सारुको संयुक्त इजलासले एउटालाई १५ वर्ष र बाँकी ३ जनालाई १०⁄१० वर्षको कैद फैसला सुनाएको रजिष्टार पौडेलले बताउनुभयो ।

१०⁄१० वर्षको कैद फैसला भारत अलिगढ उपरफोर्ट चौक एरिया जामे मस्जिद घर भई हाल भारत आर्यपुरम सपना कोलनी सेक्टर सी लखनउ बस्ने विपिन यादव भन्ने महमद फहद, भारत विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौलनगर ४ डंकन रोड बस्ने बर्मा भन्ने राजु श्रीवास्तव र भारत अलिगढ जिल्ला अलिगढ नगरमा घर भई पछिल्लो समयमा वीरगन्ज महानगरपालिका ४ लक्ष्मीटोल बस्ने अशोक श्रीवास्तव भन्ने अतित खानको हकमा सुनाइएको छ।

हत्याको मुख्य योजनाकार नै प्यासीकै निर्देशनमा २०७० साल असोज १८ गते दोस्रो संविधान सभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र बारा क्षेत्र नम्बर ४ मा निर्वाचन प्रचार प्रसार गर्दै जाँदा एमाले नेता मोहमद आलममाथि गोली प्रहार भएको थियो। उनी वीरगन्ज पथलैया सडकखण्डमा पुगेका समयमा मोटरसाइकलमा आएका दुई अभियुक्तले गोली हानी हत्या गरेका थिए ।