सडक विस्तार योजनामाथि अर्थको असन्तुष्टि

0
Shares

सुरेश तामाङ, काठमाडौं
काठमाडौंका ५ सय किमिभन्दा बढी सडक विस्तारको काम दुई वर्षदेखि ठप्प छ । कालीमाटी–कलंकी, कलंकी–नागढुंगा, बौद्ध–जोरपाटी–साँखु, लगनखेल–सातदोबाटोलगायतका सडकका काम ठप्प भएका हुन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी सडकको मापदण्डले तोकिएको सडकको दूरीभित्रको संरचना हटाउँदै सडक विस्तार गर्न लाग्दा सडक खण्डछेउका स्थानीय मिलेर सर्वाेच्चमा रिट हालेपछि अदालतले जारी गरेको अन्तरिम आदेशले ती सडकको काम प्रभावित बनेको थियो ।

पछि सर्वाेच्चले उचित मुआब्जा दिएर मात्रै घर भत्काई सडक विस्तार गर भने पनि सरकारले बजेट दिन इन्कार गरेपछि सडक विस्तारको काम झन् अन्योल बनेको हो । अर्थ मन्त्रालयका एक उच्च अधिकारीले ५० अर्ब बढी क्षतिपूर्ति रकम सडक विस्तारका लागि दिन नसक्ने बताए ।

ती अधिकारी भने–‘सरकारले तोकिएको न्यूनतम मूल्यसमेत दिन सकिँदैन भने स्थानीयले मागेको जति त टाढाको कुरा ।’ सडक विस्तारको क्रममा घरधनीलाई तिर्नुपर्ने क्षतिपूर्ति रकम अर्बाै तिर्नुपर्ने देखिएकाले पूर्व योजनामा यस्तो कुरा प्रस्ट भएको भए सडक विस्तार नै गर्न नदिने पक्षमा मन्त्रालय रहेको उनले प्रष्ट्याए ।

प्राधिकरणका सूचना अधिकारी केशव न्यौपानेले सर्वाेच्चको फैसलापछि स्थानीयले मागेजति मुआब्जा दिन नसकेकाले सडक विस्तार अघि बढ्न नसकेको बताउनुभयो ।

–काठमाडौंको सडक विस्तार थप अन्योलमा
–मन्त्रालयद्वारा ५० अर्ब बढी क्षतिपूर्ति दिन आनाकानी

काठमाडौंतर्फ कलंकी–नागढुंगा, जोरपाटी–साँखु, जोरपाटी–सुन्दरीजल, गोंगबु–टोखा, गल्कोपाखा–चक्रपथको विस्तारको काम ठप्प छ । त्यस्तै त्रिपुरेश्वरदेखि टेकु विष्णुमती पुलसम्म विस्तारको काम सके पनि विष्णुमती पुलदेखि सोल्टीमोडसम्मको सडकखण्डमा सडक विस्तार हुन नसक्दा यात्रुले कष्ट सहनुपरेको छ ।

ललितपुरमा सातदोबाटो–कर्मनासा–हरिसिद्धि–गोदावरी सडक खण्डमा र चापागाउँ दोबाटो चोक–ढोलाहिटी सडक खण्डमा पनि संरचना हट्न सकेको छैन भने नख्खुपुल–बुंमती सडक खण्ड, लगनखेल–सातदोबाटो, ग्वार्को–लुभु–गोदावरी पुलसम्मको सडक खण्डमा पनि क्षतिपूर्तिको विवादले सडक विस्तार ठप्प छ ।

त्यस्तै भक्तपुरमा भने ठिमि चारदोबाटो–बालकोट चोक सडक खण्डमा क्षतिपूर्तिको विवादले काम अघि बढ्न सकेको छैन । काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं विकास आयुक्त दिलीप भण्डारीले सरकारले क्षतिपूर्ति तिर्न नसक्ने भएपछि विस्तारको काम रोकिएको बताउनुभयो ।

उहाँले सडक विस्तारमा स्थानीयले नै सहयोग गरे सम्भब रहेको तर क्षतिपूर्ति दिन नसकिने धारणा राख्नुभयो । ‘क्षतिपूर्ति नलिने सर्तमा स्थानीयले आफैले घर भत्काएर सहयोग गरे मात्रै सडक विस्तार सम्भव छ, नत्र केही भन्न सक्ने अबस्था छैन’ –उहाँले भन्नुभयो ।

घर नभत्किएकाले सडक विस्तार नभई थप समस्या देखिएको भन्दै स्थानीय घरधनी आएको खण्डमा सडक विस्तारको काम सम्भव भएको तर सबै घरधनी यसै गरी आउनुपर्ने धारणा उहाँको रहेको छ । सडक विस्तार कार्य ठप्प बनेपछि यात्रु कष्टकर जीवन विताइरहेका छन् । सवारीहरु घण्टौँ जाममा परेको छ भने खाल्डाखुल्डी र धुलो धुवाँको समस्या ज्युँ का त्युँ छन् ।