प्रसूती सेवाको लागि अझै पनि सदरमुकाम धाउनुपर्ने बाध्यता


चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको ग्रामीण क्षेत्रमा रहेका प्रसुति केन्द्रहरुमा दक्ष जनशक्ति र आवश्यक उपकरणहरुको अभावमा अहिले पनि महिलाहरु प्रसुति सेवा लिन सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालमा आउन बाध्य छन् ।

प्रस्तावित चरिकोट अस्पताल (प्राथामीक स्वास्थ्य केन्द्र) मा तीन बर्षको अवधिमा झण्डै २३ सय महिलाले सुरक्षित प्रसुती सेवा लिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले बताए । जिल्लाको अधिकांश क्षेत्रबाट प्रसुतिको लागि महिलाहरु सदरमुकाममै आउने भएकोले अस्पतालमा यो संख्या बढेको हो– डा दंगाल भन्छन् ।

प्रस्तावित चरिकोट अस्पतालको सञ्चालन व्यवस्थापन न्याय हेल्थ नेपालले सुरु गरेपछि प्रसुती सेवा लिने महिलाहरुको संख्या अत्यधिकमात्रामा बृद्धि भएको मेडिकल डाईरेक्टर डाक्टर दंगाल बताउछन् ।

प्रस्तावित चरिकोट अस्पतालमा तीन बर्षको अवधिमा जिल्लाको अन्य स्वास्थ्य केन्द्रबाट संप्रेशण भै प्रसुतीको लागि आएको महिलाहरुको संख्यामात्र दुई सय भन्दा बढी रहेको डाक्टर दंगाले बताए । २०७५ सालको फागुन चैत्रमामात्र एक सय ८ जना महिला प्रसुती सेवा लिन प्रस्तावित चरिकोट अस्पतालमा आएको र त्यसमा ७१ जनाको सामान्य प्रसुती भएको तथा १७ जनाको सल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

प्रस्तावित चरिकोट अस्पताल न्याय हेल्थले सञ्चालन सुरु गरेको पहिलो बर्ष आर्थिक बर्ष ०७३/०७४ मा जिल्लाको अन्य स्वास्थ्य केन्द्रबाट संप्रेशण भै प्रसुतीको लागि कोहि पनि नआएको तर आर्थिक बर्ष ०७४÷०७५ र ०७५÷०७६ मा भने दुई सय भन्दा बढी सुत्केरी महिलाहरु अन्य स्वास्थ्य केन्द्रबाट संप्रेशण भै प्रसुतिको लागि आएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले बताए ।

प्रस्तावित चरिकोट अस्पतालमा आर्थिक बर्ष ०७३÷०७४ मा ५ सय २४ जनाले प्रसुती सेवा लिएकोमा ४ सय ४३ जनाको सामान्य प्रसुती भएको, ३५ जनाको केहि जटिलता रहेको र ४६ जनाको सल्यक्रिया गरिएको, आर्थिक बर्ष ०७४÷०७५ मा ५ सय ४८ जनाले प्रसुती सेवा लिएकोमा ४ सय ९५ जनाको सामान्य प्रसुती भएको, १५ जनाको केहि जटिलता रहेको र ३८ जनाको सल्यक्रिया गरिएको तथा आर्थिक बर्ष ०७५÷०७६ को चैत्रसम्म ६ सय ९९ जनाले प्रसुती सेवा लिएकोमा ५ सय ९८ जनाको सामान्य प्रसुती भएको, २५ जनाको केहि जटिलता रहेको र ७६ जनाको सल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

अस्पतालको सञ्चालन व्यवस्थापनको जिम्मेवारी न्याय हेल्थ नेपालले लिएपछि अस्पतालमा प्रयाप्त जनशक्ति, आधुनिक प्रविधि र निशुल्क सेवा समेत सुरु भएपछि प्रसुती सेवा लिने महिलाको संख्यामा बृद्धि भएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर दंगाल बताउछन् । जिल्लाको ग्रामीण भेगमा अझैपनि प्रसुतिको लागि दक्ष जनशक्ति र आवश्यक उपकरणको अभावनै रहेकोले पनि प्रस्तावित चरिकोट अस्पतालमा जिल्लाको अन्य स्वास्थ्य संस्थाबाट समेत प्रसुतीको लागि अत्यधिक विरामी आउने गरेको डाक्टर दंगाल बताउछन् ।