किरणले आफ्नै नामको मार्गमा बनाए राता मकै गेट

0
Shares

राता मकैको नामले लोकप्रिय हास्य अभिनेता तथा फिल्म निर्माता किरण केसी ललितपुरको इमाडोलमा राता मकै गेट निर्माण गरेका छन्। उनकै नाममा स्थापित राता मकै चोकमा रहेको यो गेट उनकै टोलमा अवस्थित छ।

उक्त गेटको शुभारम्भ लक्ष्मीनगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा हास्यव्यंग्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरूपमा गरेका हुन्।

कार्यक्रममा बोल्दै किरणले नाम कमाउनका लागि गेटको निर्माण गरेको नभई लक्ष्मीनगरपालिकालाई यो गेटले चिनाउने आशा व्यक्त गरे। किरणका अनुसार उक्त गेट निर्माणमा ६ लाख रुपियाँ खर्च भएको थियो। करिब १२ वर्षअगाडि नामांकन भएको राता मकै चोक र राता मकै मार्गले आफँलाई गेट बनाउन प्रेरित गरेको उनले बताए। कार्यक्रममा ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले गेट निर्माणको प्रशंसा गर्दै राता मकै गेटलाई किरणद्वार भने। ‘भारतको हरिद्वार भनिएजस्तै नेपालमा किरणद्वारको निर्माण भएकोमा निकै खुसी लागेको छ।’ –मदनकृष्णले भने। अर्का ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यले इमाडोल आफ्नो आमाको जन्भँमि भएकाले गौतम बुद्ध जन्मेको ठाउँजस्तै प्यारो लाग्ने चर्चा गरे। त्यहाँ किरण केसीको नाममा गेट निर्माण भएकोमा निकै खुसी लागेको उनले बताए।

हास्य टेलिशृंखला जिरे खुर्सानीमा अभिनय गर्ने क्रममा ए राता मकै भन्ने थेगो प्रयोग गरेपछि किरण केसी राता मकैका रूपमा लोकप्रिय छन्। सो लोकप्रियताकै कारण राता मकै चोक, राता मकै पसल, राता मकै यातायात जस्ता नामहरू राखिन थालेका थिए। उनको लोकप्रियतापछि ललितपुरको इमाडोल चोकदेखि उनको घरसम्मको सडकमार्गको नाम नै राता मकै मार्ग नामकरण गरिएको छ।