नेपालमै श्रम गरौं, नेपालमै दाल–भात–तरकारी खाऔं: हरिवंश आचार्य

0
Shares

रश्मी थापा
पछिल्लो समय नेपाली युवामाझ विदेश मोह बढ्दै गइरहेको छ। केहीको विदेशिनु बाध्यता नै हो भने अधिकांशको विदेश जानुको उद्देश्य भनेको विदेशका नाम चलेका शहरमा घुमेर फेसबुकमा फोटो पोस्ट गरी अरूलाई देखाऊँ भन्ने मनसायभन्दा पर छैन। यही विषयको वरपर रहेर निर्माण भएको फिल्म दाल भात तरकारीले भने नेपालमै श्रम गरौं र नेपालमै दाल भात तरकारी खाऔं भन्ने सार बोकेको बताउँछन् ख्यातिप्राप्त हास्य अभिनेता हरिवशं आचार्य।

‘देशमा बेरोजगारीको संख्या बढेर विदेश जानु भनेको भिन्नै कुरा हो। तर जसको देशमा रोजगारी पनि छ, उनीहरूको दैनिकी पनि राम्रो चलिरहेको छ। तै पनि विदेशमा गएर बस्ने र फेसबुकमा फोटो हाल्ने मोह छ। जो सम्पन्न भएर पनि विदेशको मोह राख्छन् उनीहरूको विषयमा बनेको फिल्म हो यो।’ –हरिवंश भन्छन्। हास्यव्यंग्य क्षेत्रमा ख्याति प्राप्त मह जोडी रहेको फिल्म भने कमेडी जेनरामा नबनेको हरिवंशले प्रस्ट पारे। ‘हामीले दाल भात तरकारी कमेडी फिल्मका रूपमा बनाएका होइनौं। यो विशुद्ध पारिवारिक फिल्म हो।

 

सिचुएसनल कमेडीले कहींकतै दर्शक हास्नु बेग्लै कुरा हो।’ –उनले प्रस्ट पारे। नेपालीहरूको खाना दाल भात तरकारी नाम राखेर बनाइएको फिल्मको सामान्य नामबारे उनी भन्छन्– ‘पहिले तँ त साह्रै बिग्रिस् नि बद्री फिल्मको नाम सुनाउँदा मानिसहरूले के नाम राखेको यस्तो? फिल्मको नाम पनि यस्तो हुन्छ र भनेर हाँस्थे। तर फिल्मले सफलता पायो। फिल्म बनाएपछि नाममा पनि केही एक्स्ट्रा होस् न भनेर दाल भात तरकारी नाम राखेका हौं। नेपालीहरूको प्रमुख खाना नै दाल भात तरकारी हो।’ हरिवंशले उदाहरण अगाडि सारे– ‘त्यसो त फिल्म शत्रु गते पनि यसको उदाहरण हो। शत्रु गते भन्ने दिन क्यालेन्डरमा छैन। तर एउटा नराम्रो दिनलाई जनाउने अर्थमा शत्रु गते नाम प्रयोग भएको छ। दाल भात तरकारी सुन्नासाथ ओहो यो फिल्मचाहिँ एकचोटि हेर्नुपर्छ भन्ने मेन्टालिटी डेभलभ भएको जस्तो लाग्छ मलाई।’

मह सञ्चारद्वारा निर्मित अधिकांश टेलिफिल्म, टेलिसिरियलको निर्माण लेखन तथा निर्देशन गरेको महले ठँला पर्दाको फिल्ममा भने निर्देशनको जिम्मा अरूलाई दिने गरेको छ। हरिवशं भन्छन्– ‘सिनेमाको टेक्नोलोजी अलि फरक छ। अहिलेको प्रविधिमा हामीभन्दा बढी युवापस्ताले जान्नेछ। टेक्निकल्ली, स्टोरीलाइन र क्रियसनको कुरा गर्ने हो भने हामीलाई अलि बढी अनुभव होला। तर प्राविधिकरूपमा अगाडि रहेका युवापुस्तालाई ≈यान्ड ओभर पनि गर्नुपर्छ। त्यसैले फिल्म निर्देशनको जिम्मा अरूलाई दिएका हौं।

नत्र हामी आफै डाइरेक्सन गर्छौं भन्दा पनि नाइँ भन्ने कोही थिएन।’ ‘शत्रु गतेमा प्रदीप भट्टराईलाई निर्देशनको जिम्मा दियौं, त्योभन्दा पहिले उहाँले जात्रा निर्देशन गरिसक्नुभएको थियो। हामीसँग धेरै सिरियलमा असिस्टेन्टको जिम्मेवारी सम्हाल्नुभएका उहाँलाई यतिमा मात्र सीमित राख्नुहुन्न भनेर हामीले गुड मर्निङ सर, लेफ्ट राइट लेफ्टजस्ता सिरियलमा पनि निर्देशनको जिम्मा दिएका थियौं जबकि स्क्रिप्ट मेरो थियो। अहिले सुदन केसीले निर्देशन गर्नुभएको छ। पहिले उहाँले फिल्महरूमा एसिस्ट गरेको देखेका थियौं। त्यस कारण अबचाहिँ उहाँलाई पनि अगाडि ल्याउनुपर्छ भनेर निर्देशनको जिम्मा दिएका हौं।’ –हरिवंशले भने।

मह जोडी निर्माण, लेखन, अभिनय, निर्देशनलगायत विभिन्न विधामा छरिएको छ। ‘मह सञ्चारले अनगिन्ती टेलिसिरियल गरेको छ। त्यस क्रममा अभिनय, लेखन, निर्देशन, प्रोडक्सन सबैमा हामीलाई बानी लागिसकेको छ। यसमा प्रोडक्सनमा ध्यान दिनुपरेन भने क्रियटिभिटीमा अलि बढी ध्यान दिन सकिन्छ भनेर किरण केसीले प्रोडक्सन सम्हालेको छ। प्रोडक्सनमा जाने आधा ध्यान पनि क्रियटिभिटीमा दिन सकिएको छ।’ –उनको भनाइ छ।

नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय मौलाएको बेथितिबारे हरिवंश निकै जानकार रहेछन्। भन्छन्– ‘पछिल्लो समय फिल्म क्षेत्रमा सुधार पनि भएको छ भने बिग्रेको पनि छ। बिग्रनुको कारण भने पछिल्लो समय धेरै फिल्महरूको प्रोडक्सन हुनु पनि एक हो। प्राविधिकरूपमा भने धेरै विकास भएको छ। पहिले १६ एमएममा खिचेको फिल्मलाई तन्काएर हेर्दा धमिलो हुन्थ्यो। हलका सिटमा बस्दा चुइँगम टाँसिने तथा लुगा च्यातिने हुन्थे। तर अहिले त्यस्तो अवस्था छैन। पिक्चरको कवालिटी राम्रो छ, राम्रा प्राविधिकहरू आएका छन्। तर नजान्ने मान्छेहरूको बाहुल्यता बढेकोले बेथितिचाहिँ बढेको छ।’ फिल्म बनाउनभन्दा चलाउनका लागि गर्नुपर्ने कसरतबाट मह पनि टाढा छैन।

विभिन्न असहज परिस्थिति तथा नेपाली फिल्मबीच नै प्रतिस्पर्धाको कारण यो स्थिति आएको हरिवशंको ठम्याइ छ। ‘फिल्म त सय पचास जना मान्छेहरू मिलेर बनाउने हो, बन्छ। तर चलाउनका लागि हजारौं दर्शकलाई हलमा बोलाउनुप¥यो। उहाँहरू आउनुहुन्छ कि आउनुहुन्न चिन्ताको विषय बन्छ। हल पनि मिलाउनु प¥यो। फेरि कहिलेकाहीं नेपाली फिल्मलाई नेपाली फिल्मले नै देखिसहँदैन। दशैंमा चंगा उडाएको जस्तो एकैचाटी ५÷६ ओटा सिनेमा आउँछन्। त्यसमाथि हलिउड बलिउडका फिल्म पनि लाग्छन्। हलिउड बलिउडका अर्बौं रुपियाँको फिल्मसँग हाम्रो एक दुई करोडको फिल्म चलाउनु चुनौती हुन्छ।’

–फिल्म दाल भात तरकारीमा डाइरेक्टर आर्टिस्टदेखि सबैले राम्रो मेहनत गरेको हरिवंशको भनाइ छ। ‘गर्नेसम्मको मेहनत सबैले गरेका छन्। अब दर्शकको हातमा छ कस्तो मान्नुहुन्छ? फिल्म भनेको चिज संसारमै त्यही हो। कस्तो चल्छ भन्ने कुरा रिलिज भएपछि मात्र थाहा हुन्छ।’ –हरिवंशले भने।

मह सञ्चारद्वारा निर्मित फिल्ममा नायिका निरुता सिंह र हरिवंश आर्चाय जोडीका रूपमा प्रस्तुत भएका छन्। मदनकृष्ण श्रेष्ठ, आँचल शर्मा, पुष्पल खड्का, वर्षा राउत, राजाराम पौडेल, वसुन्धरा भुसाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय यसमा रहेको छ। किरण केसीद्वारा प्रस्तुत फिल्ममा कथा, पटकथा र संवाद हरिवंश आर्चायको रहेको छ। नरेन्द्र कंसाकर, शिवहरि पौडेल, यमन श्रेष्ठ र रमिला आचार्यले निर्माण गरेको फिल्ममा शम्भुजित बासकोटाको संगीत, दीर्घ गुरुङको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।