कृषकको पिडाः तरकारी बिक्री नहुँदा भैँसी दुहुने घाँस


दुर्गाप्रसाद शर्मा, पर्वत ।
काउली, बन्दा जस्ता तरकारीहरु भान्सामा पाक्ने गर्छ तर दक्षिण पर्वतका केही कृषकहरुले भने काउली बन्दालाई भैसी दुहुन घाँसको रुपमा प्रयोग गर्न बाध्य छन ।

पर्वतको पैंयु गाउँपालिका वडा नं ३ बेउलीबास चिलुवा गाउँका कृषकले लगाएको बन्दाले पछिल्लो समय बजार नपाउँदा गाईभैसीलाई खुवाउन बाध्य भएका हुन ।

केही समय पहिले देखि खेतमा लगाएको बन्दा बिक्री हुनै छाडेपछि कतिपय कृषकले गाँइभैसीलाई काटेर खुवाएका छन भने कति कृषकले लगाएको बन्दा बारीमा नै कुहिने अवस्थामा पुगेको छ । स्थानिय युवा महिलाहरुले यस बर्ष धेरै क्षेत्रफलमा बन्दा लगाएका कारण नजिकका बजारमा बिक्री गर्न कठिन भएकाले गाईभैसीलाई खुवाउन बाध्य भएको उनीहरुको भनाई छ । ‘शुरुमा त बिक्री भएको थियो , अहिले बजार नपाउँदा कुहिएर गएको छ’ स्थानिय पुण्य काफ्लेले भन्नुभयो ‘हाम्रा छिमेकीहरु गाईभैसी दुहुने समयमा घाँसको रुपमा बन्दा प्रयोग गर्दै आएका छन् ।’

दक्षिण पर्वतको मुख्य ब्यापारिक केन्द्र हातेमालोचोक बजार नै हो । हातेमालोचोकमा वालिङ र बुटवलबाट तरकारी भित्रिने भएका कारण स्थानीयस्तरमा उत्पादन भएको तरकारीले बजार पाउन कठिन भएको छ । सेतीबेणी बजारमा पनि गुल्मी तर्फबाट तरकारी आउदा बिक्रीका लागि समस्या छ । हातेमालोचोक र वहाकी भञ्याङ्गमा पुगेर तरकारी बिक्री गरेपनि सोचे अनुसार बजार नभएको तरकारी उत्पादक माया काफ्लेले बताउनुभयो । ‘बजार पाउने आशमा धेरै तरकारी रोपियो, बन्दा बिक्री नहुँदा बारीमा नै कुहिएको छ’ उहाँको भनाई छ । चैत्र महिना सम्म थोरै मात्रामा बिक्री भएपनि बैषाख लागेपछि बिक्री हुँनै छाडेको छ ।

स्थानिय मिलीजुली युवा महिला समुह समुह र सृजनशिल महिला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध महिलाहरुले हिउँदमा बन्दा, काउली, गोलभेँडा लगाएका थिए । समुहका सबै सदस्यले बन्दा लगाउँदा बिक्रीमा समस्या भएको कृषक महिला सुधा बस्यालको भनाई छ । ‘सबैले बन्दा लगाउँदा समस्या भएको हो’ उहाँले भन्नुभयो ‘अब मौसम अनुसार र फरक फरक जातका तरकारी लगाउँदा बजारको समस्या कम हुने अपेक्षा छ ।’

बन्दाले बजार नपाउँदा पछिल्लो समय काक्रो खेती तर्फ धेरै जना आकर्षित भएका छन । काक्रो र घिरौला बिक्रीका लागि समस्या नहुने देखेर यस तर्फ आकर्षित भएको शोभा बस्याल बताउनुहुन्छ । ‘अब काक्रो लगाउँदा बजारको समस्या नहुने अपेक्षा छ’ गाउँका १६ देखि ३० बर्ष उमेर समुहका दिदीबहिनी मिलेर तरकारी खेती गर्दै आएका छन । केहीले सामुहिक खेती गरेर त केहीले निजी तवरमा उत्पादनमा लागेका छन । तरकारी बिक्री गरेर बचत गर्ने, पढ्ने खर्च बनाउने तथा घरपरिवारको खर्च समेत बेहोर्दै आएको उनीहरुको भनाई छ ।