सुकुलसँगै रमाउँदै सिद्धिपुरका महिला


काठमाडौँ ।
वैशाखको उखरमाउलो गर्मीमा सिद्धिपुरका महिला भने परालबाट जुत्ता बनाउँदै गरेको भेटिए । गर्मीको समयमा बाहिर काम गर्न नसकिने भन्दै उनीहरु एकै ठाउँमा भेला भएर काम गरेका हुन । सुकुल, गुन्द्री, चकटीलगायतका परम्परागत सामग्री सबै महिलाले बनाउन जाने पनि अरु सामग्री बनाउन तालीम लिएकाले मात्रै जान्दछन् । उनीहरु आफूसँग भएको सीप साथीलाई बाँड्छन् र मिलेर काम गर्छन् ।

चक्रपथबाट झण्डै चार किलोमिटर दूरीमा रहेको सिद्धिपुरमा अरु धेरै कुरामा परिवर्तन आए पनि परालबाट विभिन्न सामग्री बनाउने परम्परागत काममा भने परिवर्तन आएको छैन । सुकुल बनाउने पेशा सिद्धिपुरको विशेषता बनेको छ । समूहमा गरिने यो काम आन्तरिक र बाह्य दुबै पर्यटकका लागि चाख लाग्दो भएको देख्न सकिन्छ ।

यहाँका अधिकांश महिलासँग सुकुल बनाउने सीप छ । सिद्धिपुरभन्दा टाढा माइती भएर यहाँ बिहे गरेर आएका महिलाले पनि केही समयमा सिकिहाल्ने उनीहरु बताउँछन् । सिद्धिपुरकी नारायणदेवी महर्जन परालबाट विभिन्न सामग्री बनाएरै भान्साका लागि खर्च जुटाउनुहुन्छ । बिहान साँझ घरको काम गरेर दिउँसो फुर्सदको समयमा उहाँ सुकुल, गुन्द्री चकटी, जुत्तालगायतका सामग्री बनाउनुहुन्छ । आफ्नो हातमा सीप भए दुईचार पैसाकै लागि श्रीमान्सँग हात फैलाउनु नपर्ने उहाँले बताउनुभयो ।

आफूले सामान बनाउन सके बजारसम्म लैजानु नपर्ने महर्जनले बताउनुभयो । यी सामान खोज्ने घरघरै आइपुग्छन् । परम्परागत सामग्रीको माग एकातिर कम भएको छैन भने परालबाट बनाइने जुत्तालगायतका सामग्रीको पनि बजारमा माग छ । ललितपुरका विभिन्न स्थानमा रहेको इटाभट्टामा काम गर्नेहरु सुकुल, गुन्द्री खोज्न आउने उहाँले बताउनुभयो ।

आफन्तको मृत्यु भएपछि शुद्ध लगाउनुपर्नेले परालको जुत्ता लगाउने गर्छन् । महर्जनले भन्नुभयो, “धेरै खालका सामान त बनाउन आउँदैन जानेको बनाउँदा बेच्न कुनै समस्या छैन ।” नारायणदेवीजस्तै तोयोनानी महर्जनले पनि आफू सानै हुँदादेखि सुकुल बनाउन सिक्नुभएको थियो । बिहे पहिले उहाँका उमेरका साथी एकै ठाउँमा बसेर सुकुल बनाउने गर्दथे । त्यतिबेला सुकुल बनाउने काम मात्रैभन्दा पनि मनोरञ्जन भएको उहाँको भनाइ छ ।

राति ११÷१२ बजेसम्म एकै ठाउँमा बसेर सुकुल बनाउने गरिन्थ्यो । पहिले फोन वा इन्टरनेट नहुँदा मनोरञ्जनको सामग्री नै काम गर्नु थियो । उहाँले भन्नुभयो, “त्यतिबेलाको सम्झेर होला अहिले पनि एक ठाउँमा बसेर सुकुल बनाउँदा रमाइलो लाग्छ ।”

पहिलेभन्दा अहिले सुकल बनाउने काम व्यावसायिक बन्दै गएको सिद्धिपुरवासी बताउँछन् । पहिले आफैँलाई घरमा वा अन्न सुकाउन चाहिने हुँदा धेरै सुकुल बनाउने गरेका थिए । अहिले अरु ठाउँमा जस्तै सिद्धिपुरका घरका कोठा आधुनिक कार्पेटले भरिएका छन् । उनीहरु आफ्ना लागि मात्रै भन्दा पनि बेच्न र थोरै भए पनि आम्दानीका लागि सुकुल बनाउने गर्छन् । आमाहरुले जिन्दगीभर गरेको सुकुल बनाउने काम उनीहरुका छोरीले भने जानेका छैनन् । अरु परम्परागत काममा जस्तै यसमा युवापुस्ताको आकर्षण छैन । सिद्धिपुरकी चिरीमैयाँ महर्जन आफ्नी छोरीले डोरीसमेत बनाउन नजान्ने बताउनुभयो । उहाँका अनुसार अहिलेका पढ्ने मान्छेलाई यी काममा चासो छैन ।

उहाँले भन्नुभयो, “फुर्सद भएपछि अहिलेका मान्छे टिभि हेर्छन् कहाँ यस्ता काममा आकर्षण छ र रु”अहिले एउटा सुकुलको मूल्य झण्डै पाँचदेखि छ समयसम्म पर्छ । पहिलेपहिले आफ्नै परालले पुग्ने भए पनि अहिले किन्नुपर्ने उनीहरु बताउँछन् । अहिले स्थानीयवासीको खेत कम हुँदै जाँदा पराल अपुग हुन थालेको हो । सुकुलको मूल्य पनि समयानुसार बढिरहेको छ । तीन दशक पहिलेसम्म रु पाँचदेखि १० मा आउने ठूलो सुकुलको अहिले बजार मूल्य झण्डै एक हजारसम्म छ ।

नख्खुखोला बुङ्मति सडक निर्माण ३० प्रतिशत
नख्खुखोलाबाट भैँसेपाटी हुँदै बुङ्मतिसम्मको सडक निर्माण ३० प्रतिशत सम्पन्न भएको छ । सर्वोच्च अदालतले सडक विस्तार रोक्न अन्तरिम आदेश दिएपछि काम अवरुद्ध भएको हो ।

विसं २०७३ मा ठेक्का सम्झौता भएकोमा हालसम्म सम्पन्न हुन सकेको छैन । कतिपय स्थानमा सडक भत्काउन थालेको दुई तीन वर्ष भयो तर कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलो हुने गरेको छ । निर्माणाधीन यस सडकमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले चिन्ह लगाउन ढिलाइ गरिरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा विस्तारित सडकमा सडक चिन्ह लगाउने जिम्मेवारी प्राधिकरण र निर्माण गर्ने जिम्मेवारी आयोजनाको हो । सडकमा विभिन्न संरचना हटाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत्, टेलिफोनको पोल र रुख हटाउन सकिएको छैन ।” स्थानीयवासीले पहिले घरको मात्रै मुआव्जा माग्ने गरेकामा अहिले जग्गाको समेत मुआब्जाको माग गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो ।

स्थानीय तहले आग्रह गर्दा पनि स्थानीयवासी मुआब्जा पूरै चाहिने अडान लिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधिले चाहेर पनि सडक विस्तारको काम हुन सकिरहेको छैन ।”यो सडकको लम्बाइ पाँँच किलोमिटर छ । सडक निर्माणको ठेक्का आशिष बिरुवा सिएम जेभी र पप्पु महालक्ष्मी वल्र्डवाइड जेभि गरेर दुई ठेकेदार कम्पनीलाई दिइएको थियो । उपत्यकामा विस्तार हुन लागेका १२ वटा सडकमध्ये यो एक हो ।
रासस