नाङ्गीको पर्यटन बिकासमा जनप्रतिनिधी एकमत

0
Shares

सलिम अन्सारी, प्युठान।
प्युठान र बागलुङ जिल्लाका दुइ सिमावर्ती गाउँपालिका मिलेर एक साथ पर्यटन प्रबर्धनको क्षेत्रमा काम गर्ने भएका छन । गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी र निशीखोला गाउपालिका अध्यक्ष तारानाथ पौडेलले जैविक बिबिधताले भरिपुर्ण उच्च पहाडी भेग नाङ्गी क्षेत्रको पर्यटन बिकासका क्षेत्रमा एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन ।

प्युठानको रजवारा र बागलुङको बोहोरगाउँको सिमावर्ती क्षेत्रमा भेला भएर उनिहरुले नाङ्गीको पर्यटनमा दिगो सहकार्य गर्ने निर्णय गरेका हुन। ’नाङ्गी क्षेत्र दुवै जिल्लाको संगमस्थल रहेकाले मिलेर काम गर्ने गरी तयारी थालेका हौ ।’ गौमुखी गाउंपालिका अध्यक्ष गिरिले भन्नुभयो–’नाङ्गीको एकीकृत पर्यटन बिकास मिलेर गर्ने सहमती भएको छ।’

अर्खाको नाङ्गीमा एक भेलाको आयोजना गर्दै भएको सहमती अनुसार नांगीक्षेत्रको पर्यटन गतिबिधीलाई अघि बढाउन दुईटै गाउँपालिकाका अध्यक्ष संरक्षक रहने गरी सात सदसिय नाङ्गी क्षेत्र पर्यटन बिकास समन्वय समिति गठन गरिएको छ । त्यस क्षेत्रमा आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन आवस्यकीय पुर्वाधारको बिकासमा मिलेर काम गर्ने गरि सहमती भएको हो ।

त्यस्का लागि आगामी आर्थिक बर्षबाट दुवै गाउपालिकाले नियमित रुपमा बजेट बिनियोजन समेत गर्ने भएका छन। बाग्लुङको निशिखोला गाउँपालिका अध्यक्ष पौडेलले स्थानीय तह मिलेर काम गरे बिकास धेरै पर नरहेको बताउनुभयो । हामी पहिलो पटक यसरी एक ठाउँमा आएका छौ । उहाले भन्नुभयो–यो प्रयासलाई सार्थकता दिन्छौ । पर्यटन क्षेत्रको विविधीकरण र विस्तारसंगै नागरिकको जीवनस्तर फेर्न यो सहमती कोसेढुगा सावित हुने नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महाबिर रानाले बताउनुभयो।

गौमुखी र निशीखोला क्षेत्रको धार्मिक र सांस्कृतिक गन्तव्यहरुको एकीकृत पर्यटकिय बिकास प्रबद्धन र पर्यटकिय बजारिकरणमा ठोस योगदान पुर्याउर्ने उहाले ठहर छ। यसक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गरेको छ । बागलुङको ढोरपाटन सिकार आरक्षसंग जोडिएको नाङ्गी क्षेत्र समुन्द्री सतह देखि ३६५२ मिटरको उचाईमा छ।

प्युठान जिल्ला सदरमुकामवाट ४० किलोमिटर टाढाको अर्खा, रजवारा हुँदै ३ घण्टा बढी पैदल हिडेर नाङ्गीलेक पुग्न सकिन्छ। दुई जिल्लाको संगमस्थल रहेको यो पर्यटकीय क्षेत्रमा थुप्रै पर्यटकीय र जैविक महत्वबोकेका स्थान र सम्पदा रहेकाले संरक्षण प्रयास थाल्न ढिला गर्न नहुने अर्खाका प्रदिप तामाङले बताउनुभयो ।

मध्यपहाडी लोकमार्ग तथा बाग्दुला भिमगिठे सडकको निर्माण कार्य पूरा गरिए यो क्षेत्र पर्यटन संजालमा जोडिन सक्ने संभावना छ। नाङ्गी लेक हिमशृङखला, पहाडी भुगोल, लालीगुराँसको जङ्गल, भेडागोठ, झरना, बनस्पती, दुर्लभ वन्यजन्तु पशुपन्छी लगायतको अवलोकनका लागि आकर्षक स्थल हो ।

गौमुखी संरक्षित बन क्षेत्र अन्तरगत पर्ने यो भेगमा ७ प्रजातीका लालिगुरास र लोपन्मुख जडिबुटी समेत पाईन्छन। महाभारत पहाडी सृङ्खलामा रहेको प्युठानको कोठिभीर,नाङ्गी र पंचासे लेकले राप्ती नदिको समेत जलाधार क्षेत्र संरक्षणमा टेवा पुर्याईरहेको सम्बद्ध बिज्ञहरु बताउछन।प्युठान लगायतका छिमेकी जिल्लाहरुमा मनसुनी वर्षा गराउन यो पहाडी शृङ्खलाको महत्वपुर्ण योगदान रहेको बताईन्छ।