महासचिव पौडेलमाथि छानबिन गर्न माग

0
Shares

मधुसूदन रायमाझी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल बालुवाटारको ललितानिवासको जग्गा प्रकरणमा विवादमा मुछिएपछि छानबिन गर्नुपर्ने माग पार्टीभित्र उठेको छ ।

पार्टीका केही नेताले छानबिन गर्नुपर्ने माग राख्दै आएकोमा पौडेलमाथि छानबिन गर्नुपर्ने माग सचिवालय बैठकमा पनि उठेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकमा सचिवालयमा रहेका नेताहरूले जग्गा प्रकरणमा महासचिव पौडेल मात्र नभई पार्टीलाई समेत मुछेर आक्रमण बढेको भन्दै छानबिन माग गरेका हुन् ।

सचिवालयका एक सदस्यले भने,‘सर्वत्र महासचिव पौडेल र पार्टीलाई जोडर आलोचना हुने क्रम बढेको छ, यथार्थ के हो भन्ने बारेमा पार्टीले छानबिन समिति बनाएर प्रक्रिया अगाडि बढाउनु पर्छ ।’

बैठकमा वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा ईश्वर पोखरेलले छानबिन गरी यथार्थ विषय बाहिर ल्याउनु पर्ने माग अगाडि सारेका थिए । तर जवाफमा अध्यक्षद्धय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जवाफ नदिएको सचिवालयका ती सदस्यले बताए ।

-छानबिन समिति गठन गर्ने तयारी
-नेताहरुले दिए नीति तथा कार्यक्रममा समावेश गर्ने सुझाव

पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वमा गठित समितिको प्रतिवेदनले बालुवाटारको सार्वजनिक जग्गा अतिक्रमण भएको प्रतिवेदनमा नेकपा महासचिव विष्णु पौडेलको पनि ८ आना देखिएपछि यो विषयले पौडेल विवादित तानिनुभएको छ ।

उहाँले दुई पटक विज्ञप्ती मार्फत प्रष्ट पार्ने कोशिस गरेपछि सरकारी जग्गा किनेको भन्दै पार्टीभित्र र बाहिरबाट आलोचित बन्नुभएको छ । सचिवाय सदस्य रामबहादुर थापा वादलले पनि कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ ।
बैठकमा सचिवालयमा रहेका नेताहरुले निर्वाचन घोषणापत्रमा आधारित वार्षिक नीति तथा कार्यक्रम ल्याउन सुझाव दिदै समाजवाद उन्मुख कार्यक्रम समावेश गरेर कार्यक्रम बनाउनु पर्नेमा जोड दिएका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा सुझाव मागेकाले सुझाव दिएको बताउनुभयो ।

संविधानले निदिष्ट गरेको समाजवाद, निर्वाचन घोषणापत्र, सरकारका उपलब्धिको रक्षा र विस्तार गर्दै व्यवहारमा परिवर्तन आत्मसात गर्ने नीति तथा कार्यक्रम ल्याउन नेताले सुझाव दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।