राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी उच्चस्तरिय भेटवार्ता, सीलाई नेपाल भ्रमणको निम्तो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
चीन भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार चिनियाँ समकक्षी सी चिनफिङसँग औपचारिक भेटवार्ता गर्नु भएको छ । दिवाभोज सहितको भेटवार्ता द्धिपक्षिय सम्बन्ध विस्तारमा केन्द्रित रहेको छ ।
राष्ट्रपति भण्डारीले चीनले नेपालको विकास निर्माणमा पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै हिमालय सीमापार पूर्वाधार विस्तारमा पनि चिनियाँ सहयोग रहने विश्वास व्यक्त गर्नु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिउत्तरमा राष्ट्रपति सीले नेपालले तय गर्ने प्राथमिकताका आधारमा आफ्नो मुलुकको साथ र सहयोग निरन्तर रहने बताउनु भएको थियो ।
चिनियाँ सरकारी मुख्यालय ग्रेट हल अफ दी पिपुलमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको निम्तो दिदै नेपाली जनता उहाँलाई स्वागत गर्न आतुर रहेको बताउनु भएको थियो । निम्तो स्वीकार्दै सीले उपयुक्त समयमा आफूले नेपाल भ्रमण गर्ने र भ्रमणको वातावरण दुवै मुलुकका अधिकारीले तय गर्ने जवाफ दिनु भएको मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीको औपचारिक निमन्त्रणामा बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गत विहीवार चीन पुग्नु भएको थियो ।

सम्मेलनका क्रममा भण्डारी–सी वीच अनौपचारिक भेटवार्ता भएपनि सोमबार मात्रै उच्चस्तरिय औपचारिक भेटवार्ता भएको हो । उच्चस्तरिय भेटवार्ता पश्चात राष्ट्रपति भण्डारी सहितको नेपाली टोली आज तिब्बतको ल्हासा प्रस्थान गर्दैछ ।

नेपाल–चीन वीच विभिन्न सम्झौता र सहमति

नेपाल–चीन वीच विभिन्न सात विषयमा सम्झौता र समझदारी भएको छ । द्धिपक्षिय पारवहन प्रोटोकल लगायतका विषयमा दुवै मुलुक वीच सोमबार हस्ताक्षर भएको हो ।

नेपालको अन्तर्राष्ट्रिय सम्पर्क र व्यापार चीन हुँदै मध्य एसियासँग जोड्ने पारवहन सम्बन्धी प्रोटोकलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ यातायात मन्त्री ली सिआओपिङले हस्ताक्षर गर्नु भएको हो । सोमबार नै द्धिपक्षिय आर्थिक र प्राविधिक सहयोग सम्बन्धी सहमति पत्रमा पनि हस्ताक्षर भएको छ । यससँगै चीनको तिब्बतसँग सीमा जोडिएका नेपालका विभिन्न भेगको सडक सञ्जाल जोड्न र सीमावर्ती भेगका नेपालीको जिवनस्तरमा सुधार ल्याउन चीनले सघाउने भएको छ ।

चिनियाँ अनुदानमा नेपालमा सञ्चालित आयोजनामा सम्बन्धी प्रमाणपत्र पनि दुई देशबीच आदान प्रदान भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसबारेमा मन्त्री ज्ञवाली चिनियाँ बाणिज्यमन्त्री झेङ शानले हस्ताक्षर गर्नु भएको बताइएको छ । त्यसैगरी नेपाल–चीन वीच भन्सार सुधारका लागि द्धिपक्षीय सहयोग सम्बन्धी समझदारी भएको छ । सो समझदारी पत्रमा अर्थ मन्त्रालयका राजश्व सचिव लाल शंकर घिमिरे र चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले हस्ताक्षर गनु भएको हो ।

नेपालको गुणस्तर तथा नापतौल विभाग र चीनको गुणस्तर विभागको स्तर सम्बन्धी समझदारी भएको छ । सो समझदारीमा नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यान्छीको गर्नु भएको छ । त्यसैगरी सांस्कृतिक सम्पदाको चोरी निकासी नियन्त्रण गर्ने सम्बन्धमा पनि द्धिपक्षिय समझदारी भएको बताइएको छ ।