यूरोप भित्रिने नेपालीको रोजाईमा स्पेन

0
Shares

दीपेन्द्र गजुरेल/टीका बन्धन , स्पेन, म्याड्रिड 
नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ । आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि स्पेन नेपालीको रोजाईमा पर्न थालेको हो ।

बेलायत, ग्रिस, पोल्यान्ड, माल्टा, टर्की लगायतका मुलुकबाट यहाँ भित्रिने नेपालीको सख्या हरेक वर्ष बढिरहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ । ‘यूरोपका अधिकांश देशबाट यहाँ आउने नेपालीको संख्या बढिरहेको छ, स्पेनस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले बताउनुभयो । उहांले भन्नुभयो–‘हामीसँग आधिकारिक तथ्यांक यकिन नभएपनि हरेक वर्ष यहाँ आउने नेपालीको संख्या बढिरहेको खवर नेपाली कम्युनिटीबाट बुझिरहेका छौ ।’

स्टुडेन्ट भिषामा यूरोप पुग्ने नेपालीहरु रोजगार र बसोबासका लागि सहज वातावरण खोज्दै स्पेन भित्रिने गरेका उहाँको बुझाई रहेको छ । बेलायतमा एक दिन पनि ‘ओभर स्टे’ गर्न नपाइने भएकाले त्यहाँबाट पनि स्पेन भित्रिने नेपालीको संख्या बढिरहेको पौडेलले बताउनुभयो । सोही प्रावधानका कारण सन् २०१०पछि बेलायतबाट स्पेन भित्रिने नेपालीको संख्या निकै बढेको उहाँको ठहर छ । स्पेन भित्रिने जो कोहीले बसोबासका लागि ‘इम्पाद्रोनामिएन्तो’को प्रकृयामा सामेल हुन सक्छन् । इम्पाद्रोनामिएन्तो बसोबासका लागि स्थानीय नगरपालिकामा दिइने आवेदन प्रकृया हो ।

आवेदकले निवेदन दिएको ३ वर्षपछि बसोबास अनुमतिपत्र प्राप्त हुन्छ । त्यसपछि रोजगारका लागि आवेदन दिन सजिलो हुने र कमाई धेरथोर बचत पनि हुने बताउँदै म्याड्रिडको एक रेष्टुरेन्टमा कार्यरत एक नेपालीले भने–‘शुरुको ३ वर्ष विना कमाईको दुःखी जिन्दगी हो, ३ वर्षपछि भने केही सजिलो हुन्छ ।’

प्रवासी नेपाली मञ्च स्पेनका अनुसार स्पेन आएकै दिनमा जो कोही इम्पाद्रोनामिएन्तोको प्रकृयामा जान सक्छन् । मञ्चका निवर्तमान अध्यक्ष शिवराज सिग्देलका अनुसार इम्पाद्रोनामिएन्तोका लागि कुनै शुल्क नलाग्ने भएकाले स्पेन छिर्ने जो कोहीले आवेदन दिन सक्छन् । यस्तो अनुमति पत्र प्राप्तीका लागि स्थानीय नगरपालिकामा आवेदन दिनु पर्ने प्रावधान अनिवार्य छ तर सोही प्रावधान नेपाली दूतावासका लागि भने अनिवार्य छैन ।

यही कारणले बसोबास अनुमति प्राप्त गरेका र अनुमति लिने प्रकृयामा रहेका नेपालीको संख्या यकिन हुन नसकेको कार्यवहाक राजदूत पौडेलले प्रष्ट्याउनुभयो । ‘बसोबास अनुमति प्राप्त गरेका र र बसोबासका लागि आवेदन दिने नेपालीको संख्या अझै यकिन हुन सकेको छैन, हामी संख्या यकिन गर्न प्रयासरत छौ, नेपाली समुदायको साथ र सहयोग लिइरहेका छौ’–उहाँले भन्नुभयो ।

नेपालीको चाप भएका स्पेनका प्रमुख गन्तव्यमा बार्सिलोना, म्याड्रिड, विलबाओ लगायत छन् । समग्र स्पेनमा नेपालीको चाप रहेको गन्तव्य भने बार्सिलोना रहेको दूतावासको ठहर छ । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनका अनुसार समग्र स्पेनमा बैध–अवैध नेपालीको संख्या १५ हजारका हाराहारीमा छ भने बार्सिलोनामा मात्रै १० हजार भन्दा बढी नेपाली छन् । काठमाडौको जस्तै हावापानी र बाह्र्र्रैमास पर्यटकीय गतिविधी रहने भएकाले बार्सिलोना केन्द्रित हुने नेपालीको चाप बढिरहेको परिषद्का उपाध्यक्ष सुनिल रानाभाटले बताउनुहुन्छ ।

‘हावापानी राम्रो छ, पर्यटकीय क्षेत्र भएकाले बार्सिलोनामा नेपालीले काम पाउन खासै गाह्रो छैन’– उहाँले भन्नुभयो । कानून उलंघन गरी सञ्चालनमा रहेका, नक्कली विद्यार्थी भर्ना गरेका आफ्ना मुलुकका विश्वविद्यालयलाई बेलायतले कार्वाही गर्न थालेपछि सन् २०१०पछि स्पेन भित्रिने नेपालीको संख्या निकै बढेको उहाँको बुझाई छ । ‘२०१० पछि बेलायतबाट मात्रै १ हजार नेपाली यहाँ आएको हाम्रो अनुमान छ, रानाभाटले भन्नुभयो– ‘के कसरी नेपाली यहाँ भित्रिए, भित्रिरहेका छन् भनेर हामी विस्तृत विवरण र तथ्यांक संकलन गर्न जुटिरहेका छौ ।’

म्याड्रिडसँगै जोडिएको पोर्चुगलमा पनि हरेक वर्ष नेपालीको संख्या बढ्दोक्रममा रहेको त्यहाँ बसोबासरत नेपाली बताउँछन् । बसोबासका लागि आवेदन दिएको एक वर्षभित्रै अनुमति पाइने भएकाले सो मुलुकमा नेपालीको चाप बढ्न थालेको उनीहरुको बुझाई छ । तर पोर्चुगलको तुलनामा तलब भत्ता स्पेनमा केही सन्तोषजनक रहेकाले नेपालीको आर्कषणको गतव्य भने स्पेन परिषद्को ठहर छ ।