महानगरको प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने


काठमाडौं, (नेस) । महानगरको प्रमुख प्रशाशकीय अधिकृतमा सरकार सचिव केदार न्यौपानेले आज सोमबार पदबहाली गर्नुभएको छ । मन्त्री परिषद्को बैशाख २ गतेको निर्णयले उहाँ महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा हुनुभएको हो ।

पदवहाली गर्नुअघि महानगरको सभा कक्षमा प्रशासन बिभागले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँलेसंघीय नेपालको केन्द्रीय राजधानी सहरको छवि बढाउन सरोकारवाला सबै एकै ठाउँमा हुनुपर्ने बताउनुभयो । एकीकृत र समन्वयात्मक रुपमा वितरण गर्नुपर्ने सहरी सेवा छरिएकाले गुनासा बढेका छन्, केन्द्रीय राजधानीको गौरव बढाउन सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर एकीकृत बिकास पद्धतिको स्थापना गर्नमा आफ्नो मुख्य योजना रहेको बताउनुभयो ।

सोही अवसरमा बोल्दै महानगरको प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले महानगरको बिद्यमान अवस्थाका बिषयमा जानकारी गराउँदै छरिएका कार्यालय र साबिक व्यवस्थामा महानगरमा सेवा शुरु गरेका कर्मचारीको समायोजन अहिलेका प्रमुख समस्या भएको उल्लेख गर्नुभयो ।

यस अघि महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहनु भएका सरकारका सचिव यादवप्रसाद कोइराला, संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रुपमा सरुवा भएर जानुभएको छ ।