शनिबार पनि जनप्रतिनिधि जनताकै काममाः खानेपानीको सम्झौता गर्न घर दैलोमा


धनवीर दाहाल,रुकुम ।
स्थानीय सरकारका जनप्रतिनिधिले कुनै बिदाको दिन नभनेर सेवाग्राहीलाई सेवा दिइरहेका छन् । बैसाख १४ गते अर्थात शनिबार पनि रुकुम पश्चिमको त्रिबेणी गाँउपालिका वडा नं १० टोट्केमा गाँउपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रावल लगाएतको टिम पुग्यो ।

त्रिबेणी गाँउपालिकाको सबै भन्दा दुर्गम गाँउ टोट्केमा खानेपानीको समस्या समाधानका लागी टोली पुगेको हो ।

खानेपानीको चरम पिडा खेप्दै आएका सो गाँउमा सोलार लिफ्टीङ्गबाट खानेपानी पुर्याउन स्थानीय उपभोक्ता समितीसँग गाँउमै गएर गाँउपालिका अध्यक्ष घर्ती लगाएतको टोलीले सम्झौता गरेको हो । दोमिल्ला टोट्के लिफ्टीङ्ग खानेपानी आयोजनाको उपभोक्ता समिती गठन गरी शनिबार नै सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत रावलले बताउनुभयो ।

रावलले भन्नुभयो “हामी निरन्तर जनताकै सेवामा छौं ।” रेडक्रस सोसाइटीको २० लाख, गाँउपालिकाको २० र बाँकी जनताको श्रमदान गरी करिव ६२ लाखमा सो आयोजना निर्माण हुने छ । सो आयोजना सम्झौता भएको मितिदेखी सुरु भई २०७६ पौष मशान्त सम्म सम्पन्न हुने उपभोक्ता समितीका अध्यक्ष केशरबहादुर खड्काले बताउनुभयो ।

उपभोक्ता समितीका अध्यक्ष खड्काका अनुसार तोकिएकै समयमा काम सम्पन्न भई गाँउमा खानेपानी आउने छ । सो आयोजनाबाट एक घर एक धारा निर्माण हुने र ६७ घर लाभाम्भीत हुने रेडक्रस सोसाइटी रुकुमका सभापति रमा गौतमले जानकारी दिनुभयो ।

उता गाँउपालिका उपाध्धक्ष निर्मला बिष्टको नेतृत्वमा जनप्रतिनिधिको एउटा टोलीले अपांगता भएकाहरुलाई परिचय पत्र बितरण गरेको छ ।

उपाध्यक्ष बिष्टका अनुसार अपाङ्गता परिचय पत्र वर्गिकरण निर्दिशिका बमोजिम पुर्ण अशक्त अपांगता १ जना, अति अशक्त २ जना , मध्यम अपांगता १८ जना, सामान्य अपांगता ८ जना गरि जम्मा २९ जनालाइ अपांगता परिचयपत्र वितरण गरिएको छ ।

शनिबारको दिन पनि जनताको काममा जनप्रतिनिधि घरदैलोमै पुगेपछि स्थानीयबासी खुसी भएका छन् । आफुहरुको माग अनुसार जनप्रतिधि, कर्मचारी लगाएतको टोली बिदाको दिनमा पनि गाँउमा सेवा दिन पुगेको त्रिबेणी १०का स्थानीय पबिनकुमार खड्काले बताउनुभयो ।