प्रधानमन्त्रीको निर्देशन: हटाइए खुलामञ्चका ५१ संरचना

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । चौतर्फी दवावपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चको संरचनामा डोजर चलाएको छ ।
अनधिकृत रुपमा निर्माण गरिएका संरचनाको विषयमा तत्काल प्रतिवेदन बुझाउन कामपाले उपमेयर एवं अनुगमन समितिका संयोजक हरीप्रभा खड्गी श्रेष्ठलाई शुक्रबार आग्रह गरेको थियो ।

त्यसको भोलिपल्टै हिजो शनिबार कामपाका मेयर, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र कामपा कार्यान्वयन महाशाखा प्रमुख डिएसपी धनपति श्रेष्ठसहित उपस्थित टोलीले डोजर लगाएर संरचना भत्काएको हो ।

मेयर शाक्यले प्रधानमन्त्री कार्यालयलदेखि मन्त्रालयलगायत विभिन्न निकायले तत्काल संरचना भत्काउन निर्देशन दिएपछि टहरा भत्काएको स्पष्ट पार्नुभयो । डोजरसहित खुलामञ्च पुग्नुभएका मेयर शाक्य र सिडियो आचार्यले ब्यापारीले प्रयोग गरिरहेका सटर भत्काउन निर्देशन दिनुभएको थियो ।

लगत्तै कामपा प्रहरी र नेपाल प्रहरी टोलीले सटर भत्काएको थियो । बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीले करिब एक घण्टामा सबै सटर भत्काएको थियो । सटर भत्काउन लाग्दा ठेकेदार कम्पनीबाट भाडामा लिएका ब्यापारीले कडा विरोध जनाउदै कामपाका मेयर र उपमेयरविरुद्ध नाराबाजी गरेका थिए ।

ब्यापारीको नाराबाजी र रुवावासीबिच महानगरले ५१ वटा सटर भत्काएको थियो । ‘हामीले उपमेयरको प्रतिवेदन कुरेनौ, सर्वत्र दवाव आएपछि भत्काएका हौ –मेयर शाक्यले भन्नुभयो । उहाले खुलामञ्चको सो क्षेत्रमा बसपार्कमा भ्यु टावर निर्माण भएर संचालन नभएसम्म बसपार्क मात्र कायम राख्ने बताउनुभयो ।

कामपा भन्छ: सम्झौता पुनः अध्ययन गर्छौ
प्रतिवेदन दिनुअघि नै भत्काइयोः उपमेयर
ढिलो हुने प्रतिवेदन कुरेनौः मेयर

मनोज भेटवालको स्वच्छन्द निर्माण कम्पनीले भ्युटावर निर्माण नहुन्जेल खुला मञ्चमा बसपार्क निर्माण गर्नेगरी सम्झौता गरेको थियो । तर ठेकेदारले १० देखि १५ लाख रुपिया भाडामा दिएर खुलामञ्चमा सटर निर्माण गरेको थियो ।

कामपा कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले शौचालय, एउटा क्यान्टीन र टिकट काउन्टर बाहेकका सबै संरचना भत्काइएको बताउँदै भन्नुभयो–अब सो क्षेत्रमा तीनटा संरचनाबाहेक बसपार्क मात्र रहनेछ । उहाँले खाली गराउने हल्ला चलेलगत्तै अधिकांस ब्यापारीले सटर खाली गरिसकेको बताउनुभयो ।

खु्लामञ्चलाई बिक्री गरेको विरोधमा स्थानीय र अभियन्ताले मेयर शाक्य र उपमेयर खड्गीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएको भोलिपल्ट मेयर आफँै उपस्थित भएर संरचना भत्काउन निर्देशन दिनुभएको थियो ।
उता उपमेयर खड्गीले आफुले प्रतिवेदन नदिदै संरचना भत्काएकोमा आपत्ती जनाउनुभएको थियो । आज आइतबार बैठक बसेर प्रतिवेदन दिने तयारी गरेका थियाँै, मेयरले एकाएक संरचनामा डोजर लगाउनुभयो । उहाले आज बस्ने अनुगमन समितिको बैठकले सम्झौताको विषयमा सम्पुर्ण कागजात अध्ययन गर्ने बताउनुभयो ।

मेयर र उपमेयरबीच राजनीतिक कारणले खुलामञ्चको संरचना भत्काउने विषयमा विवाद भएको थियो । मेयर शाक्यले उपमेयरलाई १५ दिनअघि नै प्रतिवेदन बुझाउन आग्रह गर्दा नबुझाएको कारण समस्या भएको जानकारी दिँदै भन्नुभयो–उपमेयरले समयमै प्रतिवेदन नदिएको कारण समस्या बढेको हो ।

उपमयेयर खड्गीले भने मौखिक रुपमा अनुगमन गरेर प्रतिवेदन बुझाउन गरेको आग्रह आधिकारीक नभएको दावी गर्दै भन्नुभयो शुक्रबार मात्रै उहाले पत्र दिनुभएको छ । हामी अनुगमन गरी प्रतिवेदन बुझाउने तयारी गरेका थियौ ।

उहाले मेयरले लिखित रुपमा अधिकार नदिएर आफुलाई समस्यामा पारेको आरोप लगाउनुभयो । संरचना भत्काउनुपर्छ भनेर मैले पहिल्यै मेयरसाबलाई भनेको थिए, तर उहाले वास्ता गर्नुभएन । अहिले पत्र दिएको भोलिपल्ट आफैले टहरा भत्काएर नाम कमाउन खोज्नुभयो ।
टहरा भत्काउन खुलामञ्च पुग्नुभएका मेयर शाक्यले भन्नुभयो–अनधिकृत रुपमा निर्माण गरी बसेका ब्यापारीको टहरा भत्काएका हौ , यसमा कुनै विवाद गर्नु आवश्यक छैन । कामापाले ठेकेदार कम्पनीसंग अस्थायी बसपार्क सञ्चालन गर्ने बखत भएको सम्झौतामा उल्लेख भएको शर्तका आधारमा शौचालय, टीकट काउन्टर र चमेनागृह नभत्काएको हो ।

पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण हुने भएपछि त्यहाँबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका बस व्यवस्थापन गर्न खुल्लामञ्चको केही भागमा अस्थायी बसपार्क बनाइएको थियो । अस्थायी बसपार्कमा न्युनतम पूर्वाधारका रुपमा शौचालय, एउटा खाजा घर र टिकट काउन्टर निर्माण गरिएको थियो ।

यसैक्रममा ठेकेदारले टहरा थपेको थियो । विभिन्न विद्यार्थी संगठनले खुलामञ्चको संरचना नभत्काए आफैले डोजर चलाउने चेतावनी दिएका थिए । उपमेयर खड्गीले भाडा दिएर सटर संचालन गरेका ब्यापारीको विषयमा छलफल गरी उनीहरुलाई क्षतिपुर्ति दिन पहल गरिने बताउनुभयो । मेयर र उपमेयर बिचको विवाद सतहमा आएपछि मेयर शाक्यले उपमेयरको प्रतिवेदन नबुझ्दै संरचना हटाउनुभएको हो ।
उपमेयर खड्गीले भने आफ्नो समितिले आज आइतबार बैठक बसेर थप निर्णय गरी प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवासको जग्गा बेचिएको घटनापछि कामपाले खुलामञ्चमा पनि भुमाफिया सक्रिय भएको शंका गर्दै खुलामञ्च खाली गरेको हो । ठेकेदार बम्पनीसंग भएको सम्झौताको विषयमा पुनः अध्ययन गर्ने भएको छ ।

मेयर शाक्यले सहमतिवेगर संरचना निर्माण गरेको विषयमा ठेकेदार कम्पनीसंग सोधपुछ गर्ने बताउनुभयो । गलत भएको भए सम्झौता गर्नेमाथीनै कारबाही प्रकृया अघि बढाउनेछौ–मेयर शाक्यले भन्नुभयो ।

उपमेयर खड्गीले सम्झौताको सम्पुर्ण कागजात अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभएको छ । कामपाका कर्मचारी मिलेको आशंका गरेका छौ, यो विषयमा गहन छलफल गर्नेछौ–उहाको भनाइ छ । उपमेयर खड्गीले कामपाका कुनै पनि सम्पत्ती ठेक्कामा दिदा गडबड भएको आशंका ब्यक्त गर्नुभयो । ठेकेदर आफैले टहरा बनाएर भाडामा दिने सोचै बनाउदैन, कर्मचारीसमेत मिलेको हुनसक्छ–उहाको आरोप थियो ।