पलेँटीमा धुनसहित ब्यूँतियो छन्द


काठमाडा ।
छन्द कविताले पछिल्लो समय सान्दर्भिकता गुमाउँदै गएको चर्चा चलिरहेकै बेला त्यसलाई गलत ठहर गर्नेगरि नयाँ पुस्ताबाटै यसको प्रखर अभिव्यक्ति प्रकट भएको छ ।
आधुनिक नेपाली संगीतको पुनः उत्खनन् र चर्चा गर्ने उद्देश्यका साथ डेढ दसकअघि सुरुभएको ‘पलेँटी श्रृंखला’ले आफ्नो परिचयमै शुक्रबार नयाँ आयाम थप्दै छन्द कवितामा स्वयंलाई प्रस्तुत गरेको छ । कार्यक्रममा भूषिता वशिष्ठको छन्द वाचनलाई पलेँटी संयोजक आभाषले टिमको सहयोग सहित धुनबाट सिँगारेका थिए ।

लयात्मक माधुर्य र लालित्य समेटेको नेपाली छन्द कवितालाई यस विधाको अभ्यास गर्ने पारिवारिक विरासत बोकेकी भूषिताले गाएर सुनाएकी थिइन् ।

कार्यक्रमको प्रारम्भमै भूषिताले उनको हुर्काइमा आमा, बुवा र फुपुले घरमा प्रयोग गर्ने छन्द कविता कसरि मिसिन पुगेको थियो भन्ने जानकारी दिएकी थिइन् । लगत्तै एकपछि अर्को विभिन्न छन्द अनि रसमा तयार भएका लयात्मक कविताहरु सुनाउँदै गर्दा भूषिताले कुनै बखत नेपाली साहित्यको मेरुदण्ड नै मानिने छन्दको पुनर्जागरण संकेत दिँदै गइन् ।

शार्दूलविक्रिडित छन्दमा पं।जगन्नाथ उपाध्यायको ‘गुण रत्नमाला’बाट सुरु गरेकी भूषिताले त्यसै छन्दमा आदिकवि भानुभक्त आचार्यले तयार पारेका ‘बधु शिक्षा’ पनि सुनाइन् ।

बधु शिक्षामा बुहारीलाई दासीको रुपमा प्रस्तुत गरिनुलाई व्यंग्य गर्दै सुनाएकी भूषिताले समय र सामाजिक चेतका हिसाबले आदिकवि भन्दा बेग्लै महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भने उनको ‘एक सुन्दरी वेश्याप्रति’ कविताबाट अथ्र्याएकी थिइन् । यो कविता भने पन्चचामर छन्दमा थियो ।

‘छोरी मानिस हाँस्नुलाई आदिकविले बधु शिक्षामा बेश्याको विशेषण दिएका थिए,’ भूषिताले भनिन्, ‘जबकि महाकविले चाहिँ बास्तविक हाँसो आफूले केवल वेश्यामा मात्र पाएको बताएर उही भनाइलाई फरक मोड दिए।’

भूषिता घरि शास्त्रमा प्रवेश गरेर रावणले तयार पारेको शिव ताण्डव सुनाउँथिन् भने घरि आफूलाई प्रभाव पारेका छन्द कवि जयदेवको रचनाका किताब पल्टाउँथिन् ।

उनले सग्धरा, तोटक, हरि गीता, स्रग्विणि, मन्दाक्रान्ता, भूजंगप्रयात, रथयोद्धतासमेत गरेर नौवटा फरक छन्द छनौट गरेकी थिइन् । त्यसलाई फरक फरक रसहरु समेतले अथ्र्याउँदै १७ वटा रचनाहरु प्रस्तुत गरिएको थियो ।

अदिकवि र महाकविबाहेक उनले कवि शिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधवप्रसाद घिमिरे, भिमनिधि तिवारी र बालकृष्ण समका चर्चित शब्दहरुलाई लयका साथ सुनाएकी थिइन् ।

कार्यक्रममा उनले आफ्ना शिक्षक पिता भरतमणि भट्टराइको पटक पटक सम्झना गरेकी थिइन् । छोरीको हुर्काइमा अनेक मोडहरु आउँदा पिता भट्टराइले छन्द कविताकै माध्यमबाट उनलाई डो¥याउँदै लगेका सम्झनाहरुले बाबु छोरी बीच सम्वन्धको मिठो जोड प्रस्तुत गरेको थियो । भूषिताले किशोर वयमा टेक्दै गर्दाको अनुभूतिलाई उतिबेलै आफैले छन्दमा पंक्तिवद्ध गरेकी रहिछन् । उनले त्यो सिर्जना ‘रजनी’ पनि सुनाएकी थिइन् ।

पत्रकारिता र हालसालै रंगमञ्चमा समेत आफूलाई उभ्याएर चर्चित भएकी भूषिताको यो नयाँ परिचयबाट पनि श्रोता दर्शक मुग्ध हुन पुगे ।
‘असाध्यै कर्णप्रिय लाग्यो,’ भूषिताकै पुस्ताका पत्रकार तथा लेखक लेनिन बन्जाडेको प्रतिक्रिया थियो, ‘छन्दका कविता संगीतमा बगेपछि जादू हुँदोरहेछ ।’

आभाष र नेपालयसँगको संयोग जुरेपछि छन्द कविता प्रस्तुत गर्ने मञ्च पाएको उल्लेख गर्ने भूषिता यसलाई अभियानकै रुपमा लैजाने तत्काल कुनै योजना भने नरहेको सुनाउँछिन् ।

‘छन्द कविता सुषुप्त भएको अवस्थामा यो हरायो भन्ने हल्ला चलिदियो,’ कार्यक्रमपछि अंग्रेजी साहित्यकी विद्यार्थी भूषिताले भनिन्, ‘छन्द हराउँदैन यसले नयाँ पुस्तामा आफूलाई ब्यूँताउछ भन्ने सन्देश दिन सफल भएकोमा खुशी लागेको छ ।’

भूषिताका अनुसार अंग्रेजीमा रहेका आयंबिक र डायक्टल मिटरजस्तै नेपाली कवितामा पनि गति, ताल र लयकारीको उतार चढाव बोकेका विभिन्न छन्द र मात्रा छन् ।

पुस्तकका पानामा मात्र सीमित राखेर छन्दको सौन्दर्य नखुल्ने संगीतकार आभाषको धारणा छ । ‘यो विधालाई भाका दिएर गाउन लगाउँदा सहजै प्रसारित हुनसक्छ,’ उनी भन्छन्, ‘मौलिक गायन परम्पराको अभिलेख राख्न तत्पर पलेँटीले त्यही प्रयास यसपटक गरेको हो ।’ आभाषले ‘नेपाली संगीतको विकास साहित्यसँगको समागमबाटै सम्भव छ’ भन्ने गायक नारायणगोपालको धारणासमेत कार्यक्रममा स्मरण गरेका थिए ।

पलेँटीका नियमित दर्शक र यस कार्यक्रमलाई छन्दसँग जोड्न खोज्ने दिवंगत नेपाली भाषासेवी कमलमणि दीक्षितको सम्झना पनि त्यस अवसरमा गरिएको थियो ।

छन्दमा आधारित पलेँटीको यो प्रस्तुती शनिबार र आइतबार पनि जारी रहनेछ । सिट सुरक्षित गर्न चाहनेहरुका निम्ति पलेँटीको सामाजिक सञ्जाललगायत, नेपालय र थुप्रै डट कम ९धधध।तजगउचबष्।अयm० ले अनलाइनबाटै र टेलिफोनबाट समेत टिकट वितरणको व्यवस्था मिलाईएको छ ।