‘अधिकारीको सपना पूरा गर्छौं’


काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले देखाउनुभएको सपना पूरा गर्ने अभियानमा लागेको बताउनुभएको छ। उहाँले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको स्मरण गर्दै अधिकारीले देखाएको बाटोबाटै सरकार अगाडि बढेको बताउनुभएको हो।

मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको २०औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको बताउनुभयो।

सामाजिक सुरक्षा र कानुनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखनीय काम गरेको बताउँदै उहाँले भन्नुभयो– ‘राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा ठूलो योगदान पुर्याउनुभएको छ।’ प्रधानमन्त्री ओलीले विभिन्न कानुन निर्माणमार्फत मुलुक संविधानको कार्यान्वयन हुने दिशामा अगाडि बढिरहेको बताउनुभयो।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ पम्फा भुसाललगायतको उपस्थिति थियो।