सन्दर्भ ः कक्षा ११ र १२ को परीक्षा, सबै जिल्लाका प्रश्नपत्र सीसीटिभीको सुरक्षामा


ईश्वरराज ढकाल, काठमाडौं
योवर्षको कक्षा ११ र १२ को परीक्षाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी राष्ट्रिय परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षा २४सै घन्टा सीसीटिभीबाट दिने भएको छ।
यो वर्ष कक्षा १२ को परीक्षा वैशाख १५ र ११ को २९ गतेदेखि शुरू हुँदै छ।
चैतमा सम्पन्न एसईई परीक्षामा प्रदेश–२ बाट प्रश्नपत्र बाहिरिएपछि बोर्डले यस्तो व्यवस्था गर्न लागेको हो। बोर्डले परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्याउने जिम्मा केन्द्राध्यक्षलाई दिएको छ। केन्द्राध्यक्षले सुरक्षाकर्मीसहित प्रश्नपत्र बुझेपछि केन्द्रमा पुर्याउने व्यवस्था गरिएको छ।
बोर्डले केन्द्रनजिकै सीसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत लैजान निषेध गरिएको छ।
परीक्षालाई सुरक्षित र मर्यादित गर्न बोर्डले पहिलोपटक सुरक्षाकर्मीसहितको कन्ट्रोल रुम खडा गरेको छ। बोर्डको मुख्यालयमा रहेको कन्ट्रोल रुमबाट देशैभरको परीक्षाका विषयमा जानकारी दिने व्यवस्था गरिएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो।
– सूचना लिन सुरक्षाकर्मीसहितको कन्ट्रोल रुम
– ९ लाख ३६ हजार परीक्षार्थी
उहाँका अनुसार परीक्षा हलभित्र सञ्चारकर्मीलाई फोटो खिच्न, रेकर्ड गर्न निषेध गरिएको छ। परीक्षामा छड्के अनुगमनको समेत व्यवस्था गरिएको छ। परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो।
बोर्डले परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी बल्क एसएमएसको व्यवस्था गरेको छ। कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउने र बोर्डले १ हजार १ सय ७ वटै केन्द्रमा सो विषयमा जानकारी दिने व्यवस्था गरेको अध्यक्ष पौडेलले बताउनुभयो।
बोर्डले तराईको सुरक्षा व्यवस्थामा विशेष सावधानी अपनाएको छ। बोर्डका सदस्य–सचिव अर्यालले परीक्षालाई मर्यादित र व्यवस्थित गर्न आज शनिबार केन्द्रीय सुरक्षा निकायको बैठक बसी थप निर्णय गर्ने जानकारी दिनुभयो।
परीक्षामा अनियमितता गरेको जानकारी भए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्न सक्ने अधिकार दिएको छ। परीक्षामा अमर्यादित काम–कारबाही गर्ने व्यक्तिलाई ६ महिना कैद र १ लाख रुपियाँ जरिवाना गर्न सक्ने व्यवस्था गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो।
बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्टे«सन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ। बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेसन नम्बर इन्ट्री गरी हेर्न सक्ने व्यवस्था गरेको सदस्य–सचिव अर्यालले जानकारी दिनुभयो।
यो वर्षको परीक्षामा कक्षा ११ र १२ मा गरी ९ लाख ३६ हजार ५ सय ४६ विद्यार्थी सहभागी हुनेछन्। परीक्षामा छात्रको तुलनामा झन्डै ५० हजार बढी छात्राको संख्या रहेको छ। परीक्षामा ४ लाख ४२ हजार ९ सय ९७ छात्र र ४ लाख ९३ हजार ५ सय ४९ छात्रा सहभागी हुँदै छन्।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौंमा १ लाख ३४ हजार १ सय १५ परीक्षार्थीले परीक्षा दिँदै छन्। काठमाडौंमा १ सय २२ केन्द्र कायम गरिएको छ।  सबैभन्दा कम मनाङमा १ सय १० जना परीक्षार्थीले परीक्षा दिँदै छन्। मनाङ र मुस्ताङमा १–१ केन्द्र कायम गरिएको छ।
परीक्षामा प्रदेश १ मा १ सय ९७, २ मा १ सय १५, ३ मा ३ सय ३, गण्डकीमा १ सय १८, प्रदेश ५ मा १ सय ६२, कर्णालीमा ९३ र सुदूरपश्चिममा १ सय १९ केन्द्र कायम गरिएको नियन्त्रक शर्माले बताउनुभयो। परीक्षामा १ हजार १ सय ७ केन्द्राध्यक्ष, १ हजार ४ सय ८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १ सय ७ निरीक्षक, १ हजार ४ सय ८९ कर्मचारी, २ हजार २ सय १४ कार्यालय सहयोगी र १३ हजार १ सय ८४ सुरक्षाकर्मीसहित ३४ हजार ४ सय ९० जनशक्ति परिचालित हुँदै छन्। बोर्डअन्तर्गत प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाको सम्पूर्ण काम पूरा गरिसकेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो।
बोर्डका काठमाडौं, विराटनगर, लहान, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी र डडेल्धुरा कार्यालयले परीक्षाको व्यवस्थापन गरेको छ। बोर्डले सुरक्षा निकायको अनुसन्धानमा बढी संवेदनशील देखिएका जिल्लामा बढी सजकता अपनाउने निर्णय गरेको छ। त्यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षालाई मर्यादित, व्यवस्थित र भयरहित बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिनुभएको छ। मन्त्री पोखरेलले बिहीबार सो निर्देशन दिनुभएको हो। उहाँले परीक्षामा भयमुक्त वातवारणमा परीक्षा सम्पन्न गर्नमा सक्रिय एवं समन्वयकारी भूमिका निर्वाह गरिदिन प्रदेश तथा स्थानीय सरकारलाई विशेष अनुरोध गर्नुभएको छ।
‘बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न र सिकारुमैत्री एवं भयमुक्त वातावरणमा अध्ययन गरी आफ्नो क्षमता प्रदर्शनका निम्ति निर्धक्क साथ सबैखाले परीक्षामा सहभागी हुन पाउनुपर्छ’, मन्त्रीद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ– ‘विद्यालयस्तरका तथा सार्वजनिक परीक्षाका समयमा परीक्षार्थीलाई कुनै पनि प्रकारको शारीरिक तथा मानसिक रूपमा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि सञ्चालन गरिनुहुन्न।’