प्रदेश पाँचमा दुर्घटना न्यूनिकरणका लागि ‘ठाउँका ठाउँ सुधार’ अभियान


दूर्घटनावाट प्रतिमहिना ४८ जनाको ज्यान जाने गरेकोमा ३० मा झार्ने रणनीति

यमलाल भुसाल, बुटवल ।
सवारी दुर्घटनाबाट हुने मृत्यु घटाउने योजना सहित प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयले साताव्यापी कार्यक्रम आयोजना गरेको छ । प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्नेगरी यहि शनिबार भोलीदेखि ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह गर्न लागेको हो ।

यो प्रदेशमा सवारी दुर्घटनाका कारण हाल प्रतिमहिना ४८ जनाको ज्यान जाने गरेको छ । यो संख्यालाई घटाएर ३० मा झार्ने रणनीति सहित ट्राफिक सप्ताह मनाउन लागिएको प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले जानकारी दिनुभयो ।

त्यसैगरी हाल ८७ वटा सवारी साधन प्रतिमहिना दुर्घटना हुने गरेकोमा सो संख्यालाई ५० मा झार्ने, सवारी दुर्घटनाकै कारण प्रतिमहिना ७०२ जना घाईते हुने प्रहरीको तथ्यांक छ । यो संख्यालाई पनि ५ सयमा झार्ने प्रहरी रणनीति छ ।

दुर्घटना न्यूनिकरणकालागि ट्राफिक प्रहरीले ‘ठाउँका ठाउँ सुधार’ अभियान सञ्चालन गर्नलागिएको प्रदेश पाँचका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) पिताम्बर अधिकारीले बताउनु भयो ।

मान्छेको व्यबहार सुधारलाई अपनाईएको ‘ठाउँका ठाउँ सुधार’ अभियान अन्तरगत ट्राफिक नियम विपरितका गतिबिधि गर्नेलाई तत्कालै समातेर सुधार गराउने तथा ट्राफिक नियमका बारेमा जानकारी गराईने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो–‘मेन फोकस सडकको प्रयोग गर्ने आनीबानी सुधारमा हुन्छ ।’ यो कार्यक्रम प्रदेश पाँचका १२ वटै जिल्लामा सञ्चालन गरिने छ ।

ट्राफिक सप्ताह अन्तरगत पहिलो दिन शनिबार बुटवलमा बिशेष कार्यक्रम सहित उद्घाटन गरिने छ । त्यसपछिका दिनमा क्रमशः पैदल यात्रीलाई सडक पेटीको प्रयोग गर्न सिकाउने, सडक पेटी नभएको स्थानमा सडकको दायाँ किनारबाट हिँडन् सिकाईने, सडक अनुशासन सम्बन्धि व्यबहारिक अभ्यास गराईने, पैदल यात्रुलाई जेब्राक्रसिङ्, आकाशेपुलको प्रयोग गर्न अभिप्रेरित गरिनेछ ।

त्यस्तै दुई पांग्रे सवारी चालकलाई हेलमेट र फिता प्रयोग, साना तथा ठूला सवारी चालकलाई सिटवेल्टको प्रयोग, ओभरट्रयाक गर्ने तरिका सिकाईने छ ।

त्यस्तै सवारी चलाउँदा मोवाईल फोन प्रयोग नगर्न, तिब्र गति सवारी सञ्चालन नगर्न, हर्न निशेधित क्षेत्रमा हर्नको प्रयोग नगर्न, सडक लेन अनुशासन कायम गर्न अभिप्ररित गरिने बिहिबार प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी उपरिक्षक चन्दले बताउनु भयो ।

त्यस्तैगरी ट्राफिक सप्ताहकै बिचमा चालक तथा सहचालकलाई सडक सुरक्षा सम्बन्धि प्रशिक्षण गरिने, गति नियन्त्रण, ओभरट्रयाक, लेन अनुशासन, यात्रुलाई झुण्ड्याएर यात्रा नगराउन, सवारी चलाउँदा ढोका बन्द गर्न, सिट क्षमता भन्दा बढी यात्रु नबोक्न, यात्रु चढाउँदा र ओराल्दा बस बिसौनीको प्रयोग गर्न अभिप्रेरित गरिने प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताउनु भयो ।

ट्राफिक सप्ताहकै अवसरमा प्रहरीले चालक तथा सहचालकको स्वास्थ्य परिक्षण तथा चालक सहचालक, बिद्यार्थी तथा नागरिक समाजका व्यक्तिहरुलाई ट्राफिक प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको छ ।