देशभरको अदालत ठप्प पार्ने चेतावनी

0
Shares

काठमाडौं, (नेस)
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले देशैभरका अदालत ठप्प पार्ने चेतावनी दिएको छ ।

युनियनले २०७५ साउनदेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता नदिएको, न्यायाधीश नियुक्तिलगायतका विषयलाई लिएर देशैभर आन्दोलनको घोषणा गरेको हो ।

युनियनका अध्यक्ष प्रकाश पराजुलीले सरकारले निर्णय गरेर अदालतका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भनिए पनि अहिलेसम्म नपाएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

युनियनले बिहीबार र शुक्रबार कालोपट्टी बाँधी काम गर्ने र १५ गतेदेखि २२ गतेसम्म दैनिक १ देखि ६ घण्टासम्मा कार्यालय समय कार्य बहिष्कार गर्नेजस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । त्यस्तै सोही अवधिमा माग सम्बोधन नभए त्यसपछि पूरै समय बहिष्कार गर्ने योजना रहेको युनियनका अध्यक्ष पराजुलीले बताउनुभयो ।

देशैभर आन्दोलनका कार्यक्रम जारी रहेको उहाँको दाबी छ । कर्मचारीले आइतबारदेखि बिहीबारसम्म दैनिक डेढ घण्टा र शुक्रबार २ घण्टा कार्यालय समय बढाइएअनुसार काम गरिरहेका छन् ।

त्यस्तै गरी साउनदेखि मासिक ८० घण्टा अतिरिक्त समय काम गरे शुरु तलब स्केलको ५० प्रतिशत भत्ता दिने भनिएको समेत बेवास्त गरेकाले ७ दिनभित्र भत्ता दिने ग्यारेन्टी नगरिए आन्दोलनलाई निरन्तरता दिने युनियनले जनाएको छ ।