‘मनमा पनि पराकम्पन गइरहन्छ’

0
Shares

सुम्निमा काफ्ले, काठमाडौँ ।
बुबाको पालादेखि मिठाई पसल थियो । २०७२ बैशाख १२ गते बिहान आएको भूकम्पले घर पूरै ग¥ल्याम गुर्लुम्म भयो । त्यही घरले उहाँका बुवा, दुई बहिनी र पसलमै काम गर्ने भक्तपुरको २२ बर्षीय सुमन र नुवाकोटको २५ बर्षीय राजेन्द्रको एकै ठाउँमा ज्यान गयो ।

उहाँ भन्नुहुन्छ–आफ्नै आँखा अगाडी आफन्त गुमाउदाको जस्तो भयानक क्षण अरु के नै होला र ! त्यो दिन सम्झिदा मन भक्कानिएर आउँछ । आफूलाई सम्हालेर आजको स्थीतीमा आइपुग्छु जस्तो लागेकै थिएन ।
यी ले पीडा मिश्रित भनाइहरू हुन् ४ वर्षअघिको भुईचालोमा एकै परिवार गुमाएका काठमाडौँको साँखुका ४८ बर्षीय तेजनारायण श्रेष्ठको ।

त्यो दिन सम्झदैँ उहाँ फेरि थप्नुहुन्छ–हाम्रो दुइटा पसल थियो, एउटा मिठाइ र अर्काे मम पसल । बुबा मिठाई पसल चलाउनुहुन्थ्यो । त्यो दिन पनि बुबा लाखमरी पकारहनुभएको थियो । २८ बर्षिय शर्मीला, २४ बर्षिय विनिता र आमा घरमै हुनुहुन्थ्यो । हामी तल पसलमा थियौँ । त्यो दिन बिहानदेखि नै धुम्म कालो थियो । म र मेरी श्रीमती पसलमा व्यस्त भइरहेकै बेला थियौ एकैचोटी हल्यायो ।

सबै घर ड्याम ड्याम ढलिरहेको देख्दा तेजनारायणको मन आत्तिनु स्वाभाविकै थियो । उहाँ सम्झदैँ भन्नुहुन्छ–बुबाआमा र बहिनिहरुको चिन्ताले सतायो, श्रीमति र २ छोरीलाई सुरक्षित ठाँउमा छोडेर वुबाआमा भएतिर दौडीए । वरीपरी उस्तै कुईरीमण्डल थियो, मान्छेहरु चिच्याउँदै रोएको आवाज मात्र सुनिन्थ्यो । घरको त अवशेष मात्रै बाँकी । अलि पर आमा रोइरहनुभएको रहेछ, मलाई देख्ने बित्तिकै गम्ल्याङ्ग अंगालो हालेर रुदै बुबा, बहीनीहरु र काम गर्ने २ भाई घरमै पुरीएको बताउनुभयो ।

तेजनारायणको पीडा अझै सकिएको छैन । त्यो दिनको बेली विस्तार लगाउँदै उहाँ अझै सम्झनुहुन्छ–भूकम्पले हल्लाउन छोडेको छैन, आमाको कुरा सुनेपछिे होशै गुमेजस्तो अनि मुटु फुट्लाजस्तो भो । के गर्नु दैवको लिला गाउलेको सहयोगमा पनि उहाँहरूलाई सकुशल झिक्न सकिएन । सशस्त्र प्रहरी र विदेशी उद्धार टोलीले २ दिनपछि मात्रै पाँचजनाको शव निकाल्यो ।
त्यो दिन साँखुकै रबिन्द्र श्रेष्ठको जीवनमा पनि दशाको दिन बन्यो । भूकम्पमा प्राणभन्दा प्यारी जीवनसंगीनी ३० बर्षीया चण्डिका श्रेष्ठ र भर्खरै फक्रिएको फूलजस्तै कोमल १३ महिनाकी दुधेछोरी गुमाउनुप¥यो ।

३८ वर्षीय रवीन्द्र भावुक हुँदै भन्नुहुन्छ– ‘त्यो खेतमा आलु खन्ने समय थियो, खेतमा व्यस्त थिएँ । घरमै रहेका छोरी र श्रीमती भूकम्पमा परे । मनको खुशी लुटिएको त्यो बैसाख १२ गते फेरि पनि सम्झिन चाहन्न तर भूकम्पको नाममा बारम्बार गइरहने पराकम्पनजस्तै मुटुमा नमीठो पराकम्पन गइरहन्छ ।