बस दुर्घटनामा ५ यात्रुको मृत्यु

0
Shares

राम धामी, डडेल्धुरा
धनगढीबाट बझाङ जाँदै गरेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा हुँदा ५ यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

धनगढीबाट मंगलबार साढे ३ बजे बझाङका लागि छुटेको बस बुधबार बिहान पौने ५ बजेतिर डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्क नजिक भीमदत्त राजमार्गमा दुर्घटना हुँदा ५ यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतक ५ मध्ये ४ नेपाली र एक भारतीय नागरिक छन् । मृत्यु हुनेमा बझाङको तल्कालेट गाउँपालिका–४ का ४४ वर्षीय धनबहादुर घर्ती, केदारस्यूँ गाउँपालिका–५ का २५ वर्षीय नरेन्द्र गुरुधामी, ४० वर्षीय हरुली बोहरा र ५५ वर्षीय कलसी गुरुधामी रहेका छन् । भारतीय नागरिक महोमद नसिदको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

घाइतेहरुमध्ये ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । सडकबाट करिब १ सय मिटर तल खसेको बस दुर्घटना हुनुको कारण ओभरलोड हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

घाइते यात्रुका अनुसार बसमा ५० भन्दा बढी यात्रु थिए । ३२ जना भार क्षमता भएको बसमा ५० बढी यात्रु र व्यावसायिक प्रयोजनका लागि सयौं क्विन्टल सामान बोकेर धनगढीबाट मंगलबार दिउँसो छुटेको बस ४ बजे अत्तरिया पुगेको र झन्डै साढे सात घण्टा अत्तरियामै रोकिएको घाइते यात्रुहरुले बताएका छन ।

ट्राफिक प्रहरीको मोलमोलाइका कारण झण्डै साढे सात घण्टा अत्तरियामा बस रोकिएको खुलासा

बसमा बढी सामान भएकाले इलाका प्रहरी कार्यालय अत्तरियाले सामान झार्न लगाएको र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियासँग ‘सेटिङ’ मिलेपछि झारिएको सामान पुनः लोड गरेर साढे ११ बजे मात्रै बस अत्तरियाबाट अघि बढेको बसमा सवार यात्रुहरुले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा झन्डै साढे ७ घण्टा अत्तरियामै बस रोकिएको पाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अपराध अनुसन्धान फाँटका इन्चार्ज प्रनानि करवीर ऐरले जानकारी दिनुभयो ।

अत्यधिक भारका कारण दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण किरण चन्दले जानकारी दिनुभयो । अत्तरियादेखि ४ घण्टामा पुग्न सकिने दुर्घटनास्थल पुग्न निकै समय लागेको बसका यात्रु बझाङ कोटभैरवका धर्मसिंह रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘व्यावसायिक प्रयोजनका लागि बझाङ लैजान लागेको सामानको विषयमा विवाद हुँदा अत्तरियामा मात्र साढे ७ घण्टा बस रोकिएको थियो ।’ अत्तरियामा रहेका ट्रफिक प्रहरीसँग सेटिङ मिलाएपछि राति अबेर बस हिँडेको घाइते यात्रुहरु बताउँछन् ।

धनगढीदेखि साहुखर्कसम्म सार्वजनिक सवारीमा यात्रा गर्दा ८ ठाउँमा ट्राफिक प्रहरीको चेकपोस्ट छन् । शुरुमा धनगढी त्यसपछि चटकपुर, गेटा, अत्तरिया, गोदावरी, खानीडाँडा, फल्टुडे र बुडरमा ट्राफिक प्रहरीको चेकजाँच भएपछि मात्रै साहुखर्कसम्म गाडी पुग्छ । ट्राफिक प्रहरीले ट्राफिक नियमअनुसार गाडी सञ्चालन भए, नभएको विषयमा चेकजाँच गर्नुपर्ने हो । तर, डडेल्धुराको साहुखर्कमा भएको बस दुर्घटनाले भने ट्राफिक प्रहरीमाथि ठूलो प्रश्न खडा गरिदिएको छ ।

प्रहरीले नै दुर्घटनाको मुख्य कारण ओभरलोड भन्न थालेको छ । तर ८ ठाउँमा ट्राफिक प्रहरीको चेकपोस्ट हुँदाहुँदै उक्त गाडीमा ओभरलोड कसरी सम्भव भयो भन्ने विषयमा खोजी शुरु भएको हो । बसमा सवार यात्रुहरुले भने ठाउँठाउँमा राखिएका ट्राफिक चेकपोस्टको काम असुली गर्ने मात्रै रहेको आरोप लगाएका छन् ।