एकैपटक चार बच्चाको जन्म ! 


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लाको वीरगन्जमा  एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएको चिकित्सकहरुले बताएका छन् ।

जिल्लाको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन् । स्थानीय वीरगन्ज हेल्थ केयर हस्पिटलमा  मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएको अस्पताल प्रशासनले जनाएको छ ।

खातुनले जन्म दिएका तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको अस्पतालकी  मेट्रोन भूमिका अधिकारीले जानकारी दिनुभयो ।

चारैजना शिशुको अवस्था सामान्य रहेपनि तौल कम भएकाले सबैलाई अस्पतालको एनआइसीयुकक्षमा  बुधबार पनि राखेर उपचार भइरहेका उहाँले जानकारी दिनुभयो ।

सामान्यता गर्भ रहेको ९ महिनामा शिशु जन्मिने गरेको भएपनि खातुनले सात महिना पनि नपुग्दै शिशु जन्मिएकाले उनीहरुको तौल कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा. स्वेता चौधरीले जानकारी दिनुभयो । डाक्टर चौधरीका अनुसार आमा खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।