भेनिसमा घन्कियो राष्ट्रिय गान


टीका बन्धन , भेनिस, इटाली ।
इटालीको ऐतिहास सहर भेनिसमा आइतवार साँझ राष्ट्रिय गान राम्रैसँग घन्कियो । राष्ट्रगान मात्रै होइन अहिलेका लोकप्रिय लोकदेखि चल्तीमा रहेका अन्य गीत संगितमा धेरै नेपाली राती अवेरसम्म नाचगानमा व्यस्त रहे ।

भर्र्खरका बच्चादेखि उमेर ढल्किएकाहरु आफ्ना रोजाईका गीतमा रम्न पाउँदा परदेशमा होइन आफ्नै देशमा रहेको महसुस गरे ।

भेनिसको मेस्त्रेमा अपरान्ह्र ४ बजेबाट शुरु भएको नाचगान राती १० बजेसम्म जारी रह्यो । सन्दर्भ थियो, नेपाली नयाँ वर्षको ।

नेपाल एसोसिएसन इटाली भेनिसको पहलमा यहाँका मेस्त्रे, मुजुले दिप्याबे, पादोबा लगायतका सहरका नेपाली एकै ठाउँ भेला भएर शुभकामना आदान प्रदान गरे । एसोसिएसन सन् २००४मा गठन भएको र त्यसयता नयाँ वर्ष, अन्य नेपाली चाडपर्वको अवसरमा विविध कार्यक्रम हुँदै आएको संस्थाका अध्यक्ष राजन चापागाईँले जानकारी दिनुभयो ।

नयाँ पुस्ता माझ नेपालको सस्कार र संस्कृति आदान प्रदान गर्न यस्तो जमघट महत्वर्पूण बन्ने उहाँको भनाई छ । ‘नेपालको जस्तै एउटै तिथि मितिमा जमघट हुन संभव हुँदैन, आसपासको समय मिलाएर हामी जुट्ने गरेका छौ, सुख दुःख बाढ्ने गरेका छौ’–उहाँले भन्नुभयो । मिलानो, रोम, भेनिस, नापोली, तुरिनो, वोलोनिया, फ्लोरेन्स, ब्रसिया, भेरोना, पिशा, पारमा इटालीका मुख्य सहर हुन् । रोम, मिलान, पारमा, पिशा, भेनिस जस्ता सहरमा नेपाली बसोबास गर्दै आएका छन् । इटालीमा सन् २०००यता नेपाली भित्रिनेक्रम शुरु भएको र हाल करिव २ हजार नेपाली यहाँ रहेका चापागाईँले बताउनुभयो ।

मेस्त्रेमा बसोबासरत देवराज थापाका अनुसार २०१०/२०१२मा यहाँ करिव ५ हजार नेपाली थिए । कानूनी प्रकृया पुरा गर्दै स्वीजरल्यान्ड, जर्मनी, बेल्जियम, स्वीडेन जाने नेपालीको संख्या बढ्दो क्रममा रहेको थापाले बताउनुभयो । नेपालीलाई जमघट गराउन पिजामा पिजा समाज, पारमा सहरमा पारमा समाज गठन भएका छन् ।