व्यक्तिको अनुहार हेरेर मूल्याङ्कन गर्ने अवस्था छैन, सिद्धान्त तोकेर एकता टुंगिन्छः अध्यक्ष प्रचण्ड


नेपाल समाचारपत्र, काठमाडौं ।

एकता प्रक्रिया टुङ्ग्याउन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार साँझ बस्ने भएको छ। आइतबार साँझ ६ बजेका लागि बोलाइएको सचिवालय बैठकमा एकता पक्रिाया टुंगिने अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएको छ । त्यसअघि साँझ ५ बजे दुई अध्यक्ष बसेर छलफल गर्ने दाहालले बताउनुभयो ।

राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रचण्डले दुई जना कमरेडलाई दिनभर तयारी बैठक गर्न निर्देशन दिइएकोबताउनुभयो ।
यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो।

दाहालले भोलि नै जिल्ला संगठन र जनसंगठनको नेतृत्व घोषणा हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘ व्यक्तीको अनुहार हेरेर मूल्याङ्कन गर्ने अवस्था छैन। सिद्धान्त तोकेर निर्णय गर्छौं, पार्टी केन्द्रको तर्फबाट कार्यक्रम राखेका छौं। सचिवालय बैठकको निर्णयको भोलि घोषणा हुनेछ। दुई अध्यक्षबाट सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।’

प्रचण्डका अनुसार नेकपा स्थापना दिवसको अवसरमा पार्टीकै आयोजनामा सोमबार काठमाडौंमा कार्यक्रम गरिँदैछ र सोही कार्यक्रममा एकता प्रक्रिया टुंगिएको घोषणा हुनेछ ।