धरपकडको विरोध


नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शुक्रबार आयोजित धर्म निरपेक्षताको ब्यानर र पोस्टर जलाउने कार्यक्रम सम्पन्न भएको विज्ञप्तिमार्फत जनाएको छ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रशासनद्वारा गरिएको धरपकडको राप्रपा नेपालले विरोध गरेको हो।

राप्रपाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनका क्रममा काठमाडौं र विभिन्न जिल्लामा भएको प्रशासनिक दमन, धरपकड र नेता–कार्यकर्ताको गिरफ्तारीको निन्दा एवं भत्र्सना व्यक्त गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकारको उपभोग गरिरहेको राजनीतिक शक्तिलाई घेराबन्दी गर्ने, अन्धाधुन्ध लाठीचार्ज गर्ने, पक्राउ गर्ने कार्य लोकतन्त्रमा लज्जाको विषय भएको राप्रपाले बताएको छ।

‘९४ प्रतिशत ओमकार परिवारको आस्था र राष्ट्रिय पहिचानको रक्षा गर्दै धर्म निरपेक्षताको खारेजीको मागसमेत गर्न पाउने तथा निर्बाध राजनीतिक गतिविधि गर्न पाउने अधिकार पनि संविधानले सुरक्षित गरेको यथार्थ नेपाल सरकारलाई राप्रपा स्मरण गराउँदछ।’ –जारी विज्ञप्तिमा उल्लेख छ। प्रशासनको धरपकडबाट गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई अबिलम्व रिहाइ गर्नसमेत राप्रपाले माग गरेको छ।