२०७६ को नयाँ गन्तव्यः शैलुङ

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
दोलखा र सिन्धुपाल्चोकको सिमानामा पर्ने पर्यटकीय स्थल शैलुङ सरकारले घोषणा गरेको नेपालको एक सय वटा प्रमुख पर्यटकीय गन्तव्यमा परेको स्थान मध्यको एक हो । शैलुङलाई २०७६ को पर्यटकीय गन्तव्य बनाउन दोलखाको शैलुङ र मेलुङ तथा रामेछापको दोरम्बा गाँउपालिकाले शैलुङ महोत्सवको आयोजना गर्दै छ ।

सयवटा थुम्का रहेको शैलुङको हरेक थुम्बाबाट देखिने गौरीशङ्कर हिमश्रङ्खलाले प्राकृतिक सुन्दरता थपिदिएको यो क्षेत्र धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण मानिन्छ । सत्य युगमा शैलुङ्को सयवटै थुम्कामा ऋषिमुनीले तपस्या गरेर बसेको किम्वदन्ति अहिले पनि स्थानियले सुनाउने गर्छन् । कलियुग लागेपछि तपस्वि ऋषिहरु त्यहि थुम्काहरुमा समाहित भएको जनविश्वास रहदै आएको छ ।

किम्वदन्ति अनुसार सङ्गेमारमति बुद्धले उक्त स्थानमा आएर ज्ञान लिएकोले त्यसलाई साङ्गेलुङ भनिन् लागेको र पछि साङ्गेलुङ अपभ्रमस भै शैलुङ भएको हो । अर्को किम्वदन्ति अनुसार स्थानिय तमाङ भाषामा थुम्कालाई लुङ भनिने र उक्त क्षेत्रमा सयवटा थुम्का रहेकोले सयलुङ हुदै शैलुङ भएको हो ।
तीन हजार एक सय ४५ मीटरको उँचाईमा रहेको शैलुङलाई नयाँ बर्ष २०७६ को प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आगामी बैशाख १३ देखि १५ गतेसम्म शैलुङ महोत्सवको आयोजना गर्न लागिएको शैलुङ गाँउपालिकाका प्रमुख भरत दुलालले बताए । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको छ ।

शैलुङ क्षेत्रमा धर्म ढोका, १२ बर्षमा एक पटक गोदावरी फुल्ने ठाँउ, महादेव मन्दिर, हनुमान गुफा, डाफे ढुङ्गा, जरेश्वर महादेव, गाई ढुङ्गा, बाघ ढुङ्गा जस्ता धार्मिक एवं प्राकृतिक सुन्दरताका महत्वपूर्ण स्थान र स्तम्भहरु रहेकोले पनि यो क्षेत्र नयाँ बर्ष २०७६ मा नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने शैलुङ गाँउपालिका प्रमुख दुलालको विश्वास छ । शैलुङको थुम्काहरुमा पुष देखि फागुनसम्म हिमपात समेत हुने भएकोले पर्यटकलाई थप आकर्षण गर्न सक्ने स्थानिय बताउछन् । अहिले शैलुङ क्षेत्रमा विशाल बुद्धको मूर्ति निर्माण, भ्यु टावर निमार्ण लगायतका काम समेत भै रहेको छ ।

शैलुङमा पुग्न दोलखा र सिन्धुपाल्चोकको सिमाना मुडेबाट गाडिमा २० किलो मीटर गएर कालिपानी पुगेपछि आधाघण्टा पैदल जानु पर्छ भने दोलखा सदरमुकाम चरिकोटबाट महाङ्काल, मागापौवा, बाघखोर हुदै गाडिबाट ३२ किलोमीटर गएपछि कालापानी हुदै आधा घण्टा पैदल यात्रामा शैलुङ पुग्न सकिन्छ । शैलुङ घुम्न जानेले कालापानी, खोलाखर्क, ढुङ्गे र बाघखोरमा रहेको होटलहरुमा बस्न सक्ने स्थानिय बताउछन् । शैलुङलाई पर्यटकीय केन्द्र बनाउन शैलुङ गाँउपालिकाले सुविधा सम्पन्न होटल व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीलाई घर बनाउन दुई लाखसम्म अनुदान सहयोग गर्ने गाँउपालिका प्रमुख दुलाल बताउछन् ।