शैक्षिक गुणस्तरप्रति चिन्ता


शिक्षा प्राप्त गर्नु नागरिकको अधिकार हो । त्यसैले शिक्षाका लागि सरकारले ठूलो लगानी गरेको छ । तर लगानीअनुसार प्रतिफल प्राप्त हुन सकेको छैन । एकातर्फ निःशुल्क शिक्षा भनिएको छ, अर्कोतर्फ अभिभावकले अनेक शीर्षकमा शुल्क तिर्नुपरिरहेको छ । निःशुल्क भनिए पनि व्यवहारमा पूर्ण निःशुल्क हुन सकेको छैन । बर्सेनि केही प्रतिशतले शाक्षरता वृद्धि भए पनि अपेक्षाअनुरुप त्यसले लक्ष्य हासिल गर्न सकेको छैन । मुलुकमा संघीयता लागू भएपश्चात् शिक्षाको विकासका लागि गरिने केन्द्रीय बजेटबाहेक सबै कार्य स्थानीय निकायले सम्पादन गर्ने व्यावस्थाले झनै अन्योल सिर्जना भएको छ ।

शिक्षा देशको समग्र विकासको आधार भएकाले यसमा विशेष जोड दिनै पर्ने हुन्छ । शिक्षालाई हाम्रो संविधानले पनि मौलिक हकअन्तर्गत राखेको छ । राज्यले निःशुल्क शिक्षासमेत भनेको छ । हुन त कतिपय सामुदायिक विद्यालयले भर्ना शुल्क, परीक्षा शुल्क, पुस्तकालय शुल्कजस्ता विविध शीर्षकबाट शुल्क असुलिरहेको देखिन्छ । तर पनि समग्रमा भन्दा माध्यमिक स्तरसम्म शिक्षा प्राप्त गर्न केही सहज भएको भने मान्नै पर्छ । त्यसैले विगत केही वर्षअगाडिको तुलनामा हाल साक्षरता प्रतिशतमा सुधार आएको देखिन्छ । तैपनि शैक्षिक गुणस्तर भने खस्किँदै गएको छ । मुलुकका लागि यो चिन्ताको विषय हो ।

पछिल्लो केही वर्षयता सामुदायिक विद्यालयको गुणस्तर निरन्तर खस्कँदै गएकोमा सर्वत्र चिन्ता व्यक्त गरिएको छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा दयनीय बन्दै गएको छ । विकट जिल्लाहरुमा विद्यार्थीका लागि दिवा खाजा, तेल वितरणजस्ता कार्यक्रमले विद्यार्थीलाई आकर्षित गरे पनि पछिल्लो समय यस्ता कार्यले निरन्तरदा नपाउँदा विद्यार्थी तथा अभिभावकमा यसको नकारात्मक प्रभाव परेको छ ।

शिक्षातर्फको बजेट निरन्तर घट्दै जानु, भएको बजेट पनि सदुपयोग हुन नसक्नु, विपन्न वर्ग लक्षित छात्रवृत्ति कार्यक्रम रोकिनु र यसमा पुनरवलोकन हुन नसक्नु शिक्षाको गुणस्तरमा प्रभाव पार्ने कुरा हुन् । त्यसै गरी अनावश्यक राजनीतिक प्रभाव यस क्षेत्रमा पर्नु, शिक्षकमा पढाउनुपर्छ भन्ने भावनामा कमी आउनु, विद्यार्थीमा पनि पढेर रोजगारी पाइँदैन किन पढ्ने भन्ने मानसिकता पैदा हुनु पनि शैक्षिक गुणस्तर खस्कनुका कारण हुन् ।

आफ्ना बालबालिकाको अध्ययन के–कस्तो रुपले अगाडि बढिरहेको छ भनेर अभिभावकले ध्यान दिएमा मात्रै पनि केही हदसम्म सुधार हुनेछ । यता विद्यार्थी स्वयं सिकाइप्रति जागरुक र मेहनती हुनुपर्छ भने शिक्षकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ । खस्कँदो शैक्षिक गुणस्तर उकास्नका लागि प्राथमिक शिक्षादेखि नै ध्यान पु¥याउनुपर्छ । यसका लागि सरकार मात्र नभएर नागरिक पनि जागरुक हुनुपर्छ ।