झापाका चिया बगान १९ दिनदेखि बन्द


भद्रपुर ।
सरकारले गतबर्ष राजपत्रमा सुचना प्रकाशन गरेर श्रम ऐन लागू गरेको छ । मजदुरले श्रम ऐन कार्यान्वयनको माग गर्दै चिया बगान बन्द गरेका छन् । बगान बन्द भएको विहीबार १९ औ दिन भएको छ ।

अहिले उद्योगले मजदुरलाई २ सय ७८ रुपैंयाँ दैनिक ज्याला दिदै आएका छन् । श्रम ऐनमा ३ सय ८५ रुपैंयाँ ज्याला दिनुपर्ने ब्यवस्था छ । जसमा ‘२ सय ३१ रुपैंयाँ ज्याला र १ सय ५४ रुपैंयाँ महङ्गी भत्ता’ भनेर ब्याख्या गरिएको छ । मजदुरले सामाजिक सुरक्षाकोषमा ज्याला रकमको १० प्रतिशत अनिवार्य रुपमा जम्मा गर्नुपर्ने हुन्छ ।

उद्योगीले सञ्चयकोष बापत १० प्रतिशत, उपदान बापत ८ दशमलब ३३ प्रतिशत र सामाजिक सुरक्षा भत्ता शिर्षकमा १ दशमलब ६७ प्रतिशत रकम थपेर सामाजिक सुरक्षा खातामा जम्मा गर्नुपर्ने हुन्छ ।

आन्दोलनका कारण फस्ट फ्लसको १५ प्रतिशत चिया काम नलाग्ने चिया उत्पादक संघ झापाका अध्यक्ष शुरेश कुमार मित्तलले बताउनुभयो । १९ दिनदेखि भएको आन्दोलनले १५ करोड मुल्य बराबरको चिया खेर गइसकेको उहाको भनाइ छ ।

सोही ऐन कार्यान्वयन गर्न उद्योगीहरु पछि हटेपछि देशभरका चिया उद्योग बन्द भएका छन् । आवरणमा ४ सय ३१ रुपैंयाँ देखिए पनि ऐनले ५ सय ५५ रुपैंयाँ ज्याला पु¥याउने उहाको भनाइ छ । बोनस, दशैखर्च र बिदाको समयलाई गणना गर्दा तोकेको ज्याला बृद्धि भएर आउने उहाले जनाउनुभयो ।

मजदुरको आन्दोलनका कारण चिया क्षेत्र धरासयी भएको आरोप लगाउँदै मित्तलले यही श्रम ऐन कार्यान्वयन गर्नुपरे उद्योग बन्द गर्नुको बिकल्प नरहेको बताउनुभयो । सरकारले कानुन निर्माण गरेर उद्योग खारेज गरे आफुहरु तयार रहेको समेत मित्तलको भनाइ छ । श्रम ऐन मान्दैनौ नभनेको बताउँदै उद्योगले धान्न नसक्ने श्रम ऐन परिमार्जन गर्न आग्रह गरेको उल्लेख गर्नुभयो ।

देशभरका चिया क्षेत्रमा ५० हजारको हाराहारीमा मजदुर कार्यारत रहेका छन् । उद्योग बन्द भयो भने ठुलो संख्याका मजदुरको रोजीरोटी गुम्ने अवस्था छ । उद्योगी र मजदुरको आ–आफ्नै अडानका कारण सबैभन्दा धेरै बिदेशी मुद्रा भित्र्याउने नेपालको चिया क्षेत्र अस्तब्यस्त भएको छ ।