लुक्लामा जहाज दुर्घटना अपडेटः कोपाइलटसहित दुई प्रहरी सहायक निरीक्षकको मृत्यु


काठमाडौँ, सोलुखुम्बुको लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । पाइलटसहित दुईजना गम्भीर घाइते छन् ।

लुक्ला विमानस्थलमा आइतबार बिहान समिट एयरको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्।

जहाजका कोपाइलट सुदीप ढुंगाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याइएपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन्। उक्त जहाजकी एयर होस्टेज रश्मी लामा सामान्य घाइते छिन्। घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्रीएयरको हेलिकप्टरसित ठोक्किएको थियो ।