कांग्रेसको बौद्धिक समिति पूर्ण


नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानमा ३८ सदस्य नियुक्त गर्नुभएको छ। पार्टीभित्र अन्य विषयगत विभिन्न विभाग हुँदाहुँदै पनि ती विभागको हैसियतभन्दा माथि राखेर गठन गरिएको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान केही समयअघि मात्र गठन भएको हो।

कांग्रेसभित्र केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान महत्वपूर्ण भएकै कारण यसलाई अन्य विभागको हैसियतभन्दा माथि राखिएको छ। विभागहरूमा केन्द्रीय सदस्य प्रमुख रहने व्यवस्था छ भने यो प्रतिष्ठानको नेतृत्व उपसभापतिले गर्ने व्यवस्था छ। उपसभापतिको नेतृत्वमा गठन गरिने यो प्रतिष्ठान १३औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले लामो समयसम्म उपसभापति मनोनित नगर्दा यो प्रतिष्ठान गठन हुन सकेको थिएन।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार उपसभापति एवं प्रतिष्ठान प्रमुख निधिले शुक्रबार ३८ जना सदस्य नियुक्त गर्नुभएको हो। जसमा डा. आरजु देउवा (डडेल्धुरा), धु्रव वाग्ले (तनहुँ), डिकबहादुर लिम्बू (मोरङ), मनोहरनारायण श्रेष्ठ (धनकुटा), तुलसीनारायण श्रेष्ठ (लमजुङ), सुभाष पोखरेल (खोटाङ), रञ्जित कर्ण (सप्तरी), मोख्तार अहमद (सिरहा), मधु शाही (बारा), डा. सूर्य ढुंगेल (महोत्तरी), डा. जगदीशचन्द्र पोखरेल (तनहुँ), डा. गोविन्दराज पोखरेल (प्यूठान)लाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरिएको छ।

मुख्य सचिव पौडेलका अनुसार उपसभापति निधिले खिलानाथ दाहाल (ओखलढुंगा), तारानाथ दाहाल (सिन्धुपाल्चोक), केशव निरौला (मोरङ), छन्दबहादुर पहराई (गुल्मी), गेजा शर्मा वाग्ले (काठमाडौं), प्रा. अमुदा श्रेष्ठ (काठमाडौं), प्रसिस महरा (डोटी), किशोरदत्त बराल (कास्की), कमला लामिछाने (गोरखा), भगिरथ पोद्धार (झापा), राजकुमार नकर्मी (काठमाडौं), प्रमोदहरि गुरागार्इं (काठमाडौं), नानुमैयाँ बाँस्तोला (काठमाडौं), भद्रा भण्डारी पराजुली (काठमाडौं), राजु नेपाल (भक्तपुर), रामजी कंग्रेन (धनकुटा), लालबहादुर पुन (बागलुङ), शम्भु जोशी (दार्चुला), सरस्वती गुरुङ (कास्की), देविका नेपाली (दाङ), डोल्मा तामाङ (सोलुखुम्बु), कान्ता रिजाल (पाँचथर), मदन कट्टेल (रूपन्देही), सुष्मा तिवारी (पर्सा), वीरेन्द्र साह (सुनसरी) र दीपक अधिकारी (सर्लाही) पनि प्रतिष्ठान सदस्यमा नियुक्त गरिएको छ।

१३औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदा सभापति देउवाले नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई देशको बदलिँदो आवश्यकताअनुसार नीति र कार्यक्रमका सम्बन्धमा निरन्तर छलफल र बहस गर्ने थलोका रूपमा विकसित गरिने बताउनुभयो।। महाधिवेशन भएको ३ वर्षपछि भर्खर प्रतिष्ठानले पूर्णता पाउँदै छ। नीति तथा प्रशिक्षण प्रतिष्ठान १२औं महाधिवेशनदेखि १३औं महाधिवेशनसम्म भने क्रियाशील भएको थियो।

कांग्रेसको महत्वपूर्ण संरचना मानिएको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको गठनसम्बन्धी व्यवस्था विधानको धारा ३६ मा उल्लेख गरिएको छ भने यसको संरचना र नियमित कार्य सञ्चालन बारे नियमावलीमा उल्लेख छ।

उपसभापतिको प्रमुखत्वमा गठन हुने यो प्रतिष्ठानमा केन्द्रीय सदस्य एवं पार्टीका उपयुक्त व्यक्ति उपप्रमुख रहने व्यवस्था छ। यसको संरचना निर्माण गर्दा प्रतिष्ठानका प्रमुखले सम्बन्धित विषय क्षेत्रका ज्ञाता पार्टीका क्रियाशील सदस्यमध्येबाट निश्चित संख्यामा सदस्य नियुक्त गर्ने व्यवस्था छ।

प्रतिष्ठान प्रमुखले एकजना कार्यकारी निर्देशकसमेत नियुक्त गर्ने व्यवस्था भने यसअघि नै पुरा भइसकेको छ।

तत्कालीन अवस्थामा यो प्रतिष्ठानको उद्देश्यअनुरूप प्रभावकारी काम भएकै कारण पनि पहिलो संविधानसभामा निर्वाचनमा नराम्ररी पराजित भएको नेपाली कांग्रेसले दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको हैंसियत कायम राख्न सकेको पनि बताइएको थियो।

तत्कालीन अवस्थामा पार्टीका जिल्ला सचिव, कोषाध्यक्ष, क्षेत्रीय सभापति, कार्यालय सचिव एवं भ्रातृ तथा सुभेच्छुक संघसंस्थालाई प्रशिक्षणको माध्यमबाट जुझारु र क्रियाशील बनाउन पनि प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।