साधारणसभामा गोल्छाको नामै उच्चारण गरिएन

0
Shares

काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघभित्रको राजनीतिले मानवीय संवेदनासमेत गुमाएको व्यवसायीहरुको गुनासो छ ।

राजधानीमा जारी महासंघको ५३ औं वार्षिक साधारणसभामा महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष दिवाकर गोल्छाप्रति श्रद्धान्जलीको एक शब्द पनि उच्चारण नगरिएपछि सो गुनासो आएको हो ।

हुन पनि बिहीबारदेखि राजधानीमा शुरू भएको महासंघको साधारणसभामा कुनै पदाधिकारीले गोल्छाप्रति श्रद्धान्जलीका एक शब्द खर्चेनन् । मृर्गाैलाबाट पीडित गोल्छाको मंगलबार भारतमा निधन भएको थियो ।

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका दिवाकरका पारिवारिक सदस्य शेखर गोल्छाले विभिन्न उद्योग वाणिज्य संघलाई सम्मान गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, उहाँ शोकका कारण कार्यक्रममा सहभागी हुनुभएन ।
शेखरले सम्मान गर्ने तालिका रहे पनि उहाँ अस्वस्थ रहेको वस्तुगततर्पmका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताउनुभएको थियो । उहाँले पनि गोल्छा परिवारमा परेको शोकबारे कतै उल्लेख गर्नुभएन ।

महासंघमा गोल्छा समूहको महत्वपूर्ण योगदान रहे पनि उहाँको निधनप्रति कुनै शब्द उच्चारण नगर्नुलाई महासंघभित्रको राजनीतिले मानवीय संवेदना हराएको साधारणसभामा उपस्थित उद्योगी व्यवसायीले प्रतिक्रिया दिए ।
तर वस्तुगततर्फका उपाध्यक्ष उमेशलालले भने वाहीयात तर्क बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो–‘हिन्दू परम्पराअनुसार दाहसंकार नभएको व्यक्तिप्रति श्रद्धान्जली दिन उपयुक्त नहुने भएकाले उद्घाटन सत्रमा सम्बोधन नगरिएको हो । दाहसंस्कारपछि औपचारिक श्रद्धाञ्जली कार्यक्रम राखिनेछ ।’

यसैबीच स्वर्गीय गोल्छाको बिहीबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारअघि गोल्छाको पार्थिक शरिरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले महासंघको झण्डा ओढाउनुभएको थियो ।
महासंघका सहायक निर्देशक विदुरचन्द्र लामिछानेले महासंघले वैशाख २ गते श्रद्धाञ्जली कार्यक्रम राखेको जानकारी दिनुभयो ।