२ प्रतिशत काम सिध्याउन थप ८ अर्ब रकम आवश्यक

0
Shares

काठमाडाैं । ४५६ मेगावाटको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको २ प्रतिशत मात्रै काम बाँकी छ । राष्ट्रिय गौरवको आयोजना भएकोले पनि सरकारले तामाकोसीलाई नजिकबाट हेरीरहेको छ । तर बाँकी काम सम्पन्न गर्न थप ८ अर्ब रकम आवश्यक पर्ने भएपछि आयोजनाको लागत बढ्ने निश्चित भएको हो ।

आयोजनाको बाँकी काम सम्पन्न गर्न थप ८ अर्ब रकम आवश्यक पर्ने तामाकोसी हाइड्रोपावर लिमिटेड सीईओ विज्ञान श्रेष्ठ बताउँछन् । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेड अपुग रकम जुटाउन मुख्य लगानीकर्ता कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानसंग छलफलमा छ । जबकी आयोजनाको लागत २०६६ सालमा ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ अनुमान गरिएको थियो । भूकम्प, नाकाबन्दी र विदेशी मुद्राको विनिमय दरका कारण आयोजनाको लागत बढेर ४९ अर्ब पुगेको सीईओ श्रेष्ठको भनाई छ ।

२०७६ मंसीरसम्म सम्पन्न गर्ने लक्ष्य
आर्थिक वर्ष २०७३/०७४ भित्रै निर्माण सम्पन्न गर्ने र २०७६/०७७ बाट नाफा कमाउने लक्ष्य कम्पनीको थियो । तर, सुरुमा विनाशकारी भूकम्प बाधक बन्यो । २०७२ वैशाखमा आएको भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजनाको काम प्रभावित भएको थियो । त्यसपछि निर्माण सम्पन्न गर्ने नयाँ मिति २०७५ असार तोकिएपनि काम नसकिएपछि पुनः २०७६ असार हुँदै लाई २०७६ मंसीरसम्म पुगेको छ । तर आयोजनाको प्रमुख संरचना निर्माणका कारण केही ढिलाई भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । ‘हामी आयोजनामा रकम अभाव हुन नदिने गरी काम गरिरहेका छौं ।’ उनले भने, ‘आवश्यक रकम जुटाएर बाँकी काम सम्पन्न गर्नेछौं ।’

निर्माण अवधिको ब्याज मात्रै २० अर्ब 
यता, आयोजनाको समय लम्बिँदा निर्माण अवधिको ब्याज मात्रै २० अर्ब रुपैयाँ पुग्ने भएको छ । आयोजनामा गत आर्थिक बर्षमा १४ अर्ब र चालु आर्थिक बर्षमा ५ देखि ६ अर्ब ब्याज थपिने आयोजनाले जनाएको छ । यो २० अर्ब जोड्दा आयोजनाको कुल लागत ६९ अर्ब ६३ करोड पुग्ने देखिन्छ ।

आयोजनामा नेपाल सरकारसहित कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोषलगायत देशका ठूला संस्थाको ऋण लगानी छ ।